10/05/2025, 20:54:56
आइतबार, असोज १९, २०८२
ललितकलामा एआई

‘ललितकलामा एआई’ विषयक कार्यक्रम


२१ साउन, काठमाडौं : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधवार ‘ललितकलामा एआई’ विषयक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा लेखक/पत्रकार अजय शर्माले सो विषयमाथि प्रस्तुति दिनुभयो। प्रस्तुतिमा शर्माले एआईको पृष्ठभूमि, विकास, ललितकलामा यसको प्रयोग र प्रभावका बारेमा चर्चा गर्नुभयो। शर्माको प्रस्तुतिमाथि नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले टिप्पणी गर्नुभयो। उहाँले एआईको व्यापक प्रयोगले भविष्यमा आउन सक्ने चुनौतीबारे पनि समयमै सचेत हुनपर्ने र एआई जेनेरेटेड कलालाई वर्गीकृत गर्न आवश्यक रहेको बताउनुभयो।

समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एआईको प्रयोग समयसापेक्ष रूपमा हुन जरुरी रहेको बताउनुभयो। उहाँले एआई जेनेरेटेड कलाको पहिचान गर्ने मानक तयार गरी ललितकलामा पहिचान तथा स्थान दिन सकिने बताउनुभयो।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले एआईलगायतका प्रविधिलाई अनुकूल प्रयोग गरेमा त्यसले सकारात्मक परिणाम दिने बताउनुभयो। समयानुसार प्रविधिको विकासलाई ग्रहण गर्दै जानुपर्ने र यसले सिर्जनशील कलाकारहरूलाई थप मद्दत गर्ने उहाँको धारणा थियो।

प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले एआईको प्रयोग सही निर्देशनविना अर्थपूर्ण नरहने र सोका लागि विस्तृत ज्ञान आवश्यक रहेको बताउँदै विषयवस्तुको स्रोतबारे सचेत रहन आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा प्राज्ञ नरेन्द्रप्रसाद भण्डारी, प्राज्ञ मुकेश मल्ल, कलाकार दिवेशमान सिंह प्रधान, प्राज्ञ कृष्णराज सर्वहरी, रमेश दाहाल, पत्रकार सुनील पौडेल लगायतले प्रस्तुतिका विषयमा आफ्ना विचार तथा जिज्ञासा राख्नुभयो। समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकार लगायत सहभागी थिए।