08/04/2025, 11:24:17

आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’


१९ साउन, भोजपुर : भोजपुरको षडानन्द नगरपालिका– ३ खार्तम्छामा रहेको छाँगे झरनाको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । एक सय ३९ मिटर उचाइ रहेको यो झरनाको संरक्षण गरिएसँगै पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको हो ।

भोजपुरको सबैभन्दा अग्लो यो झरनाको षडानन्द नगरपालिका र कोशी प्रदेश सरकारको बजेटमा पदमार्ग निर्माणसँगै आवश्यक संरचना निर्माण गरिएको छ । झरनाको संरक्षणसँगै यसको प्रचार प्रसारमा जोड दिइएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । यो स्थानलाई एक स्थापित पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ विकासमा जोड दिएको उहाँको भनाइ छ ।

छाँगे झरनाको विकास तथा संरक्षणमा जुटेका छौँ” प्रमुख उदासले भन्नुभयो,“झरना हेर्न आउने पर्यटकलाई लक्षित गरेर बाटोसँगै आवश्यक संरचना निर्माण गरेका छौँ । यो झरना हाम्रो नगरको एक महत्वपूर्ण पर्यटकीयस्थल हो ।

यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर एकीकृत विकासमा जोड दिएको प्रमुख उदासले जानकारी दिनुभयो । सतीघाटमा रहेको सती ढुङ्गाको संरक्षणबाट कुन्सालिङ डाँडा, हाँस पोखरी साउने डाँडाहुँदै, छाँगे झरना र त्यहाँबाट नेपाले डाँडाको ओमकार शक्ति  पिठ,  योगमायाको समाधीस्थल मजुवाबेँसीलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्रको रुपमा वृहत्तर विकास गर्ने योजना रहेको प्रमुख उदासले बताउनुभयो ।

यो झरना  हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । देश तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयवासी सुरज बस्नेतले बताउनुभयो । झरना भएको स्थलमा खानेपानीको व्यवस्थासँगै बस्नका लागि फलैचासमेत निर्माण गरिएपछि पर्यटकलाई सहजता भएको उहाँले बताउनुभयो ।

छाँगे झरनाको संरक्षण भएपछि पर्यटकको सङ्ख्या बढेको छ” बस्नेतले भन्नुभयो, “यसको उचित विकाससँगै देश विदेशमा चिनाउन सकिएको छैन । यो झरना हाम्रो क्षेत्रको प्रकृतिको उपहार नै हो ।”  माथिबाट झरेको पानीको फोहराले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । यो स्थान पर्यटकीयसँगै धार्मिक क्षेत्र रहेकोले यसको विकासमा ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

ओझेलमा परेका यस्ता पर्यटकीयस्थलको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्थानीय गणेश अधिकारीले बताउनुभयो । राज्यले यस्ता ठाउँको पहिचान गरेर लगानी बढाउनुपर्ने स्थानीयबासीको भनाइ छ ।