१८ साउन, काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले संवैधानिक इजलासमा समेत गोला प्रक्रियाबाट न्यायाधीशहरू छनोट गर्न माग गरेको छ । सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई एक ज्ञापनपत्र पठाएर गोला प्रक्रियाबाट न्यायाधीश तोक्न माग गरेको हो ।
नेपालको संविधानको धारा १३७ मा संवैधानिक इजलाससम्बन्धी व्यवस्था छ, जहाँ प्रधानन्यायाधीश र न्यायपरिषद्को सिफारिसमा उनले तोकेका ४ न्यायाधीश रहने व्यवस्था छ । पछि सर्वोच्च अदालतकै व्याख्या अनुसार ४ भन्दा बढी न्यायाधीशहरूको सूची (रोस्टर) बनाई तीमध्येबाट प्रधानन्यायाधीशले ४ जना न्यायाधीश तोक्ने अभ्यास भएको थियो ।
चोलेन्द्रशम्सेर जबराको पालामा प्रधानन्यायाधीशले आफूखुसी न्यायाधीश छनोट गरेको आरोप लागेपछि प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशहरू संवैधानिक इजलासमा रहने भद्र सहमति भएको थियो । र हालसम्म पनि त्यो अभ्यास कायम छ ।
केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरूको आन्तरिक समीक्षामा संवैधानिक इजलासमा रहने न्यायाधीशहरूका बारेमा बहस भएको थियो । केही वरिष्ठतम न्यायाधीशहरूले अहिलेकै व्यवस्था यथावत हुनुपर्ने माग गरेका थिए भने केहीले रोस्टरमा रहेका न्यायाधीशहरूबीच गोला प्रक्रियाबाट न्यायाधीश छनोट हुनुपर्ने माग गरेका थिए ।
केही दिनअघि ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति विवादमा न्यायाधीशहरूबीच राय बाझिएर ३/२ को अनुपातमा मुद्दाको फैसला भएको थियो र प्रधानन्यायाधीश नै अल्पमतमा परेका थिए । त्यसपछि संवैधानिक इजलास गठनका बारेमा फेरि बहस हुन थालेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक (फुलकोर्ट) मा सीमित भएको बहसमा प्रवेश गरेर सर्वोच्च अदालत बारले समेत गोला प्रथाको माग गरेको हो ।