११ साउन, काठमाडौं : रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बाढीले बगाएसँगै दुई देशबीच टुटेको व्यापारिक सम्पर्क र आवतजावत सहज बनाउन दसैंअघि नै निर्माण सक्ने गरी बेलिब्रिज बनाउन सुरु गरिएको छ ।
बेलिब्रिज सञ्चालनमा आउँदासम्म स्याफ्रुबेंसी–रसुवागढी सडक पनि चौडा बनाइसक्ने गरी तयारी अघि बढेको छ ।
भोटोकोशी नदीको सहायक ल्हेन्दे खोलामा २४ असारमा आएको बाढीले मितेरी पुल बगाएको थियो । त्यसयता दुई देशबीचको आयातनिर्यात ठप्प छ । स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड पनि क्षतिग्रस्त छ । करिब दुई सातापछि एकतर्फी रूपमा मात्र साना सवारीसाधन मात्र चल्न सक्ने गरी सडक मर्मत सुधार गरिएको छ ।
चाडबाड केन्द्रित व्यापारलाई दृष्टिगत गरी नेपाल सरकारले चीन सरकारलाई तत्काल अस्थायी बेलिब्रिज बनाइदिन आग्रह गरेको थियो । त्यहीअनुसार बेलिब्रिज निर्माणका लागि चीनले तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउँछन् । ‘दसैंअघिसम्म बेलिब्रिज बनिसक्नेछ,’ उनी भन्छन् ।
‘अहिले पुल निर्माण गर्ने ठाउँमा सफाइको काम सुरु गरिएको छ, जमिनको प्राविधिक अध्ययनपछि पहिलाको मितेरी पुलभन्दा केही वरपर बेलिब्रिज निर्माण हुनेछ,’ उनी भन्छन् ।
बेलिब्रिज अस्थायी रूपमा मात्र रहने र पछि पक्की पुल पुरानै स्थानमा बनाइने शर्माको भनाइ छ । ‘बेलिब्रिज राख्दै गर्दा पक्की पुल निर्माणका लागि पनि चिनियाँ पक्षले डिजाइनको काम अघि बढाउँदै छ,’ उनी भन्छन् ।
रसुवा भन्सार कार्यालयका अनुसार उक्त नाका भएर दिनको सय हाराहारीमा मालवाहक सवारीसाधन ओहोरदोहोर गर्छन् । बाढीपछि भने भन्सार कार्यालय सुनसान छ । टिमुरेमा रहेको भन्सार यार्ड बाढीले बगाएको छ । त्यहाँ रहेका ६८ वटा सवारीसाधन बाढीले बगाएको थियो । बेलिब्रिज सञ्चालनमा आउँदासम्म स्याफ्रुबेंसी–रसुवागढी सडक पनि चौडा भइसक्ने शर्माको भनाइ छ । ‘अहिले एकतर्फी मात्र सडक सञ्चालन गरिएको छ,’ उनी भन्छन्, ‘चाडबाडअघि मालवाहक सवारीसाधन गुड्न मिल्ने गरी सडक बनाइसक्छौं ।’ यस खण्डको सडक सुधारको काम चीनले गर्ने गरी सन् २०१९ मै ठेक्का भएको थियो ।
नेपाल र चीन दुवै पक्षबाट सडक निर्माणमा के–कति लागत लाग्छ भनेर मूल्यांकन गर्ने काम भइरहेको शर्माले बताए । ‘पछि दुई लेनको सडक चीनले बनाउनेछ,’ उनले भने, ‘अहिले चाडबाडलाई लक्ष्य गरेर नेपाल–चीन मिलेर सडक बनाउँछौं,’ उनी भन्छन् ।
चाडबाड अगावै बेलिब्रिज निर्माण सकेर चीनबाट सामान ल्याउने वातावरण बनाउन सम्बन्धित मन्त्रालय र निकायबीच समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत बताउँछन् । भन्सार यार्डमा भएको डुबानलगायत विषयमा नेपाल इन्टरमोडल यातायात विकास समितिले क्षति मूल्यांकन गरी सरसफाइको काममा नेतृत्व गर्ने उनको भनाइ छ ।
बेलिब्रिज निर्माणका लागि चीनले काम अघि बढाइसकेको र सडक चौडा पार्ने काम पनि छिट्टै सुरु हुने सडक विभागका महानिर्देशक विजय जैसी बताउँछन् । ‘चीन सरकारको अनुदानमा स्याफ्रुबेंसी–रसुवागढी खण्डको १६ किमि सडक दुई लेन बन्दै छ,’ उनी भन्छन्, ‘बाढीपहिरोले क्षति गरेको खण्डमा चीनले काम गर्ने बताइसकेकाले त्यहीअनुसार अघि बढ्छौं ।’
रसुवामा बाढीले क्षति पुर्याएको भौतिक संरचना पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलबीच गत सोमबार भेटवार्ता भइसकेको छ । उक्त भेटवार्ताका क्रममा सियाओदोङले भौतिक संरचना पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












