07/23/2025, 16:10:02

‘म अघि बढिसकें, अब रोकिने कुरै छैन’ : विद्यादेवी भण्डारी


७ साउन, काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा आइसकेकाले अब नरोकिने बताएकी छन् । एमाले केन्द्रीय कमिटीका अधिकांश सदस्यले पूर्वराष्ट्रपति राजनीतिमा आउनै नहुने तर्क गरिरहेका बेला उनले राजनीतिमा आउन नरोकिने बताएकी हुन् ।

आफू २०३५/३६ सालदेखि विद्यार्थी राजनीति हुँदै ०६२/६३ सालसम्म आन्दोलनमा लाग्दा खुट्टा नकमाएको प्रसंग उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफ्नो राजनीतिक गति रोक्नुपर्ने कुनै कारण नभएको बताइन् । ‘म अघि बढिसकें । अब रोकिने कुरै छैन,’ आफ्नो निवास भंगलामा मंगलबार पत्रकारहरूसँग उनले भनिन्, ‘मैले सदस्यता नवीकरण गरिसकेकी छु । कुनै जिम्मेवारी मागेकी छैन ।

सुरुमा राष्ट्रपति हुन आफ्नो इच्छाले नगएको दाबी गर्दै भण्डारीले देश र जनताको सेवा गर्न सकिने निष्कर्ष निकालेरै उक्त पद स्वीकार गरेको पनि सुनाइन् । ‘मलाई राजनीतिमा आउन पार्टीले रोक्छ भन्ने लागेको छैन,’ उनले भनिन्, ‘केन्द्रीय कमिटीमा मेरो पक्षमा बोल्न नदिएको हो भने त्यो सरासर गलत हो ।

भण्डारीले आफ्नो सदस्यता विवाद मुख्य विषय नभएको उल्लेख गर्दै यो राजनीतिक भएको पनि बताइन् । ‘मैले पोहोर नै सदस्यता नवीकरण गरेकी हुँ । त्यो जिम्मेवार नेतालाई थाहा छ,’ उनले ओली बेखुस हुनुको कारण खुलाउँदै भनिन्, ‘१४ असारमा मैले राजनीतिमा आउने घोषणा गरेपछि अध्यक्ष ओलीले मन पराउनु भएन । त्यसअघि मैले नयाँ वर्षमा लिखित शुभकामना दिएको पनि उहाँलाई मन परेको थिएन ।

सदस्यता नवीकरण विवादमा ल्याएर आफ्नो अपमान गरिएको उनको टिप्पणी थियो । ‘राष्ट्रपति हुने बेला पार्टीले मोर्चामा पठाएको हो । सदस्यता सधैंका लागि त्यागेको होइन,’ उनले भनिन् । विधान मस्यौदामा छलफल गर्न बोलाइएको पार्टी बैठकमा आफ्नो विषय निकालिएकामा पनि उनले आपत्ति जनाइन् ।