07/22/2025, 19:30:35

हेलिकप्टरबाट काठमाडौँ पठाइएका शिशुको उपचारका क्रममा मृत्यु


खोटाङ, ६ साउनः जिल्ला अस्पतालमा जन्मिएका शिशुको काठमाडौँमा लगेर उपचार गर्ने क्रममा मृत्यु भएको छ । शल्यक्रियामार्फत जन्माइएका शिशुलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो ।
शिशुलाई समस्या देखिएपछि गर्भवतीका लागि राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत आमासहित शिशुलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो । जिल्ला अस्पतालमा सोमबार शल्यक्रियामार्फत जन्मिएका शिशुको काठमाडौँको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाका जानुका खत्री र सर्वकुमार खत्रीको दोस्रो सन्तानका रूपमा जन्मिएका शिशुको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् । उद्धार गरिएका शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ ।
जन्मिएलगत्तै श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि थप उपचारका लागि शिशुलाई आमासहित काठमाडौँ पठाइएको अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले बताउनुभयो । जन्मिने समय एक हप्ता नाघेपछि पनि व्यथा नलागेपछि शल्यक्रियामार्फत बच्चा निकालिएको अस्पतालले जनाएको छ । तीन पटकसम्म औषधि चलाउँदा समेत व्यथा नलागेपछि शल्यक्रिया गरिएको डा सङ्ग्रौलाले बताउनुभयो । शिशुको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीले घटना भएको आरोप लगाउन थालेका छन् ।
गत असार २२ गते ५० शय्यामा स्तरोन्नति गरिएको जिल्ला अस्पतालमा दक्ष जनशक्ति र आवश्यक उपकरण नहुँदा उपचारमा आउने बिरामीका लागि दैनिकजसो हेलिकप्टर चार्टर गरेर अन्यत्र लैजानुपर्ने बाध्यता छ । बिना पूर्वाधार कोशी प्रदेश सरकारका स्वास्थ्य तथा भौतिक पूरवाधार विकासमन्त्री भूपेन्द्र राईले १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति भएको घोषण गर्नुभएदेखि नै आलोचना सुरु भएको थियो ।
विक्रम संवत् २०४९ वैशाख १ गते स्थापना भएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नतिका लागि निर्माणाधीन भवन अलपत्र अवस्थामा छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..