07/20/2025, 03:18:53

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन


पाटन (ललितपुर), ३ साउनः पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको निधन भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दिनुभएको जानकारीअनुसार आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा उहाँको ८९ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय बज्राचार्यको शव अहिले महाराजगञ्ज अस्पतालमा नै राखिएको छ, उहाँका कान्छा छोरा विदेशबाट फर्किएपछि भोलि अन्त्येष्टि हुनेछ”, महानगरप्रमुख महर्जनले भन्नुभयो ।

विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त हुनुभएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख हुनुभएको थियोे । विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत १७ को वडाध्यक्ष, २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधानपञ्च भई उहाँले काम गर्नुभएको थियो । विसं २०४६ मा प्रजातन्त्र आएपछि उहाँ एमालेबाट २०५४ मा ललितपुरको नगरप्रमुख हुनुभएको थियो ।

व्यापार क्षेत्रबाट पहिचान बनाउँदै राजनीतिमा होमिएका बज्राचार्यले २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष, २०३८ सालमा सङ्घको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म अध्यक्षको जिम्मेवारीमा रहेर योगदान दिनुभएको थियो ।