काठमाडौँ, २६ असारः साल्ट ट्रेडिङ कर्पोरेसनका संस्थापक स्व हेमबहादुर मल्लको सम्मानमा स्थापना गरिएको ‘हेमबहादुर मल्ल सम्मान २०८०’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल जनप्रशासन सङ्घ र कर्पोरेशनले संयुक्त रुपमा आज आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उहाँलाई सो सम्मान प्रदान गरेको हो ।
न्यायिक नेतृत्व र संस्थागत विकासमा पु¥याउनुभएको योगादनस्वरुप श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएको सङ्घले जनाएको छ । उक्त पुरस्कारको राशि रु दुई लाख र सम्मानपत्र रहेको छ । कानुन र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतको न्यायाधीश हुँदै श्रेष्ठ मुलुकको २५औँ प्रधानन्यायाधीश बन्नुभएको थियो ।
सङ्क्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा श्रेष्ठका विचार, अडान र फैसलाको ऐतिहासिक भूमिका लगायतको विशिष्ट योगदानको कदरस्वरुप उहाँलाई यो सम्मान प्रदान गरिएको हो । लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले उक्त उहाँको नाम सिफारिस गरेको थियो ।
सो अवसरमा प्रधानन्यायाधीश राउतले श्रेष्ठ नेपालको सिङ्गो न्यायिक इतिहासलाई प्रतिविम्बित गर्ने सामथ्र्य राख्ने व्यक्तित्वका रुपमा रहनुभएको बताउनुभयो । “विधिको शासन, न्यायिक अक्षुणता, स्वतन्त्र न्यायपालिका र मानवअधिकारका क्षेत्रमा श्रेष्ठले दिनुभएको योगदान स्मरणीय छ”, उहाँले भन्नुभयो ।
पुरस्कृत व्यक्तित्व श्रेष्ठले राज्यका विभिन्न अङ्ग, निकाय र तहले जवाफदेही ढङ्गबाट सेवा प्रवाह गर्न नसक्दा मुलुकमा सुशासन कायम गर्न कठिन भइरहेको जनाउँदै त्यसतर्फ सरोकारवालाको ध्यान पुग्नुपर्ने बताउनुभयो । पुरस्कार छनोट समितिका संयोजक मैनालीले संस्थागत नेतृत्व क्षमता, दृढता, बौद्धिकता र विवेकको उच्च मूल्याङ्कन गर्दै उहाँलाई पुरस्कारका लागि सिफारिस गरिएको बताउनुभयो ।
कर्पोरेशनसका अध्यक्ष प्रदीपलाल श्रेष्ठले दैनिक उपभोग्य वस्तुको सहज र सरल आपूर्तिमा संस्थाले काम गर्दै आइरहेको जानकारी दिनुभयो ।
ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही सार्वजनिक वितरण, सेवा र व्यवस्थापनमा दिनुभएको योगदनाको कदर गर्दै २०७५ सालमा सो सम्मान स्थापना गरिएको हो ।
सङ्घले सार्वजनिक प्रशासन, व्यस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पु¥याउनुहुने व्यक्ति वा संस्थालाई बर्सेनि हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ । सो सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशङ्कर लालदास र डा भेषबहादुर थापा सम्मानित भइसक्नुभएको छ ।