07/10/2025, 18:11:40

फाइबर इन्टरनेट सेवामा एक महिनामै थपिए ७५ हजार ग्राहक


काठमाडौँ, २६ असार : नेपालमा फिक्स्ड ब्रोडब्यान्ड सेवामा प्रयोगकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको एमआईएस प्रतिवेदनअनुसार जेठ अन्त्यसम्म फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या देशभर ३१ लाख ७८ हजार ६ सय ३७ पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा ७५ हजार ८ सय १४ ले बढी हो ।

वैशाखमा एफटीटीएच इन्टरनेटका ग्राहकको संख्या ३१ लाख २ हजार ८ सय २३ थियो । यो संख्या जेठमा करिब २.४४ प्रतिशतले वृद्धि भएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले अघिल्लो महिना सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वव्यापी रूपमा सन् २०१८ यता फिक्स्ड ब्रोडब्यान्ड सेवाको तुलनामा मोबाइल ब्रोडब्यान्ड सेवा तीन गुणाले पहुँचयोग्य (एफोर्डेबल) बनेको छ । नेपालमा चाहिँ मोबाइलभन्दा फिक्स्ड ब्रोडब्यान्ड सुपथ मानिन्छ । तर पनि हालसम्म आधा जनसंख्यामा मात्रै यो सेवा पुगेको तथ्यांक सार्वजनिक भएका छन् ।

स्मार्टफोन, ट्याब्लेट वा वाइफाई डिभाइस प्रयोग गरेर थ्रीजी, फोरजी, फाइजीजस्ता मोबाइल नेटवर्कमार्फत प्रदान गरिने इन्टरनेट सेवा मोबाइल ब्रोडब्यान्ड हो । यसका लागि सिमकार्ड वा मोबाइल डेटा प्याक आवश्यक पर्छ । फिक्स्ड ब्रोडब्यान्ड भनेको चाहिँ अप्टिकल फाइबर, एडसीएल वा केबलमार्फत घर वा कार्यालयहरूमा जडान गरिने इन्टरनेट सेवा हो । यसमा राउटरले विभिन्न उपकरणमा इन्टरनेट वितरण गर्छ । नेपालमा एडीएसएल/केबलमार्फत फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवा लिनेको संख्या निरन्तर घट्दो छ । पछिल्ला दुई महिनामै २५ प्रतिशत ग्राहकले यस्तो सेवा त्यागेका छन् । यो पुरानो प्रविधिलाई सेवा प्रदायक, नेपाल टेलिकम आफैंले विस्थापन गर्दै लगेको छ ।

आधुनिक फाइबर इन्टरनेट सेवामा सबैभन्दा धेरै ग्राहक संख्याका आधारमा वर्ल्डलिंक कम्युनिकेसन्स अग्रपंक्तिमा छ । जेठमा वर्ल्डलिंकका फाइबर सेवा लिने ग्राहकको संख्या १० लाख ७ हजार ४ सय ३४ थियो । त्यसपछि क्रमशः डीस मिडिया नेटवर्क, नेपाल टेलिकम, भायानेट र सुबिसु छन् । पछिल्ला दुई महिनामा भायानेटले सबैभन्दा धेरै ग्राहक बढाएको छ । एक महिनामै करिब ७० हजार नयाँ ग्राहक थपिएका छन् । वैशाखमा भायानेटका ग्राहक २ लाख ४५ हजार ९ सय ४५ रहेकामा जेठमा ३ लाख १५ हजार ७ सय ७० पुगेका छन् ।

प्राधिकरणका अनुसार फाइबर इन्टरनेट सेवाको पेनिट्रेसन (पहुँच) दर क्रमशः बढेर जेठमा ४७.६३ प्रतिशत पुगेको छ । यो वैशाखमा ४६.४९ प्रतिशत थियो । देशको करिब आधा जनसंख्याले प्रत्यक्ष वा परोक्ष रूपमा फाइबर इन्टरनेट पहुँच पुर्‍याएको यसबाट बुझ्न सकिन्छ । सेवा प्रदायकहरूबीचको प्रतिस्पर्धा र प्रयोगकर्ताको बदलिँदो प्रवृत्तिले यो वृद्धिलाई थप तीव्र बनाउने अनुमान गर्न सकिन्छ । प्रयोगकर्ताहरू एडीएसएल, फिक्स्ड वायरलेस वा थ्रीजस्ता पुराना प्रविधिहरू छोडेर फोरजी र फाइबरतर्फ आकर्षित भइरहेको देखिन्छ ।

 

पछिल्लो एक महिनाको अन्तरालमै १ लाखभन्दा धेरै नयाँ प्रयोगकर्ता फोरजी मोबाइल इन्टरनेटमा जोडिएका छन् । वैशाखमा देशभर फोरजी चलाउनेको कुल संख्या २ करोड ५३ लाख ७५ हजार ४ सय २३ थियो भने जेठमा २ करोड ५४ लाख ८२ हजार ६ सय ४७ पुगेको छ । थ्रीजीमा भने ग्राहक निरन्तर घटिरहेका छन् । यो प्रविधि फेज–आउट हुने दिशातर्फ गइरहेको छ । एनसेलले त सन् २०२५ को अन्त्यसम्ममा थ्रीजी बन्द गर्ने घोषणा नै गरिसकेको छ । नेपाल टेलिकमले पनि थ्रीजी विस्थापनका लागि आन्तरिक तयारी गरेको जनाएको छ ।

ग्राहक हिस्साका आधारमा सबैभन्दा धेरै ग्राहक भएका १० इन्टरनेट सेवाप्रदायक

सेवा ‍प्रदायकग्राहक संख्या (जेठ)बजार हिस्सा (प्रतिशत)
वर्ल्डलिंक१० लाख ७ हजार ४ सय ३४३१.४२
डिसहोम३ लाख ५६ हजार ७ सय ६५११.१२
नेपाल टेलिकम३ लाख २६ हजार ८ सय ४९११
भायानेट३ लाख १५ हजार ७ सय ७०९.८४
सुबिसु केबलनेट३ लाख ५ हजार ८ सय ४२९.५३
क्लासिक टेक१ लाख ८४ हजार ८ सय ६१५‍.७६
वेबसर्फर नेपाल१ लाख ७५ हजार ८ सय ८६५.४८
टेकमाइन्ड्स नेटवक८५ हजार ५१२.६५
सीजी कम्युनिकेसन्स८१ हजार ७ सय ३९२.५५
वाइफाई नेपाल७७ हजार २ सय ५२२.४१

स्रोत : नेपाल दूरसञ्चार प्राधिकरण


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ