07/09/2025, 03:31:26

ललितकला प्रतिष्ठानको १८औँ प्राज्ञसभा : कलाको विकासमा सरकारको सहयोग रहने विश्वास


काठमाडौँ, २४ असार : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १८औँ प्राज्ञसभा सुरू भएको छ ।

सभाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मैनालीले प्रतिष्ठानले सीमित स्रोत र साधनका बीच गरेका कामहरू प्रशंसनीय रहेको बताउनुभयो । उहाँले यस्ता कार्यहरूमा सधैँ मन्त्रालयको साथ रहने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले नीतिगत कुरामा देखिएका समस्यालाई सबैको सल्लाहबमोजिम संशोधन गर्न मन्त्रालयले काम गरिरहेको धारणा राख्नुभयो ।

समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्राज्ञसभाले ललितकला क्षेत्रमा नयाँ आधार तय गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानले आगामी दिनमा खोज, अनुसन्धान तथा प्रकाशनको कामलाई थप जोड दिने बताउँदै उहाँले कलालाई पर्यटन प्रवर्धनसँग जोडेर काम गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले प्रतिष्ठानले अहिले गरिरहेको कार्य सराहनीय रहेको बताउँदै प्राज्ञसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपालको ललितकला क्षेत्रलाई कस्तो बनाउने भन्ने कुरा ललितकलाकर्मीकोे मात्र हुटहुटीले नहुने बताउँदै सबैको सहयोग र सहकार्यमा मात्र त्यो सम्भव हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी ललितकला क्षेत्रको समृद्धि तथा उन्नयनका लागि योजना बनाउने पूर्वसन्ध्यामा छौँ । प्राज्ञिक व्यक्तिहरूबाट प्रज्ञा–प्रतिष्ठानलाई साँच्चैको प्राज्ञिक ढङ्गले चलाउनका लागि यो सभाको आयोजना गरिराखेका छौँ ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले स्रष्टाको भूमिका समाजलाई सकारात्मक दिशातर्फ लाने, सकारात्मक ऊर्जा प्रदान गर्ने हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी त्यही अभियानमा छौँ । हामीले ललितकलाका माध्यमबाट त्यो भूमिका निर्वाह गर्दै अगाडि बढिरहेका छौँ । कला क्षेत्रलाई गति दिन यो सभाले पक्कै पनि केही भूमिका निर्वाह गर्ने छ । हामीले नेपालका सबै ललितकलाकर्मी, संस्कृतिकर्मीको साथ र सहयोगमा गतिविधिहरू गरिरहेका छौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदी र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य कुश्मा महरा ‘प्रगति’ले प्रज्ञासभाको सफलताको शुभकामना दिँदै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट धेरै सिक्न सकिने बताउनुभयो । सदस्यसचिव महराले भन्नुभयो, “ललितकलाका क्षेत्रमा अहिले प्रदेशदेखि राष्ट्रियस्तरमा जुन लहर आएको छ । यो असाध्यै सकारात्मक पक्ष हो र सिक्न लायक छ ।” महराले नीतिगत, अधिकारका कुराहरू सबैको एउटै भएकाले सहकार्यमा जोड दिनुभयो ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक÷सदस्य सचिव किरणबाबु पुनले सांस्कृतिक संस्थानका तर्फबाट सहकार्य, समन्वय र ऐक्यबद्धताका कुराहरूमा वर्तमान नेतृत्वले प्रतिष्ठानसँग सहकार्यका हातहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू, प्राज्ञसभा सदस्यहरू, कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी, कार्यक्रमको जारी बन्दसत्रमा आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम, योजना, बजेटलगायतका ललितकलाका विविध विषयमा छलफल भइरहेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ