07/09/2025, 04:00:11

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती


चितवन, २४ असारः चिकित्सकले उठाएका माग समयमा सम्बोधन हुन नसक्दा यसको प्रत्यक्ष प्रभाव बिरामीमा परेको छ । नेपाल चिकित्सक सङ्घको अगुवाइमा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी आन्दोलित भएपछि बिरामीले सास्ती व्यहोर्नु परेको हो ।

जिल्लाका सरकारी, निजी र सामुदायिक सबै अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द छन् । जिल्लाभरका चिकित्सक स्वास्थ्यकर्मी भरतपुर अस्पतालमा जम्मा भएर प्रदर्शन गर्न थालेपछि यहाँ आएका बिरामी उपचार नपाएर फर्किन बाध्य छन् ।

अत्यावश्यक बिरामीलाई भने आकस्मिक कक्षबाट सेवा दिइएको छ । तत्काल गर्नुपर्ने शल्यक्रिया नरोकिएको भए पनि नियमित हुने शल्यक्रिया र बहिरङ्ग सेवामा हुने परीक्षण भने रोकिएको छ । यहाँ चितवनसहित २५ भन्दा बढी जिल्लाबाट उपचारका लागि बिरामी आउने गर्दछन् । क्यान्सर उपचारका लागि भने देशैभरि र भारतबाट समेत बिरामी आउने गरेका छन् ।

चिकित्सकको आन्दोलनले यसरी उपचारका लागि आएका बिरामी प्रभावित भएका हुन् । तनहुँको रिसिङ् गाउँपालिकाबाट ससुरालाई उपचार गराउन भरतपुर अस्पताल आउनुभएकी सरिता दराईले उपचार गराउन नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “छालासम्बन्धी उपचारका लागि यहाँ आएका थियौँ । सोमबारदेखि चिकित्सकको पर्खाइमा छौँ । अस्पताल आएपछि थाहा भयो, यहाँ आकस्मिकबाहेक अन्य सेवा बन्द रहेछन् । उपचार नभएपछि खर्च र समयको बर्बाद मात्रै भयो”, उहाँले भन्नुभयो ।

भरतपुर महानगरपालिका–१२ का ६० वर्षीय दिलबहादुर कुँवर खड्का परीक्षणपछि आएका रिपोट लिएर भरतपुर अस्पतालमा भौतारिँदै हुनुहुन्थ्यो । “उपचारका लागि समय मिलाएर आए पनि अस्पताल बन्द हुँदा समस्या भयो”, उहाँले सुनाउनुभयो,  “उपचारका लागि कार्यालयमा बिदा लिएर आएको थिए, यहाँ समस्यामा परियो ।

सर्लाहीबाट श्रीमतीको उपचारका लागि आउनुभएका गोपी मुखियाको पनि समस्या उस्तै छ । विभिन्न किसिमका परीक्षण सकेर रिपोट देखाउने तयारी गरेको समयमा अस्पतालमा आन्दोलन हुँदा कहाँ बस्ने कहाँ खाने भन्ने समस्यामा परेको उहाँले बताउनुभयो । यहाँ आएको १० दिन भए पनि उपचार नपाएको मुखियाको गुनासो छ ।

उहाँहरूजस्तै पर्साको ठोरी गाउँपालिकाबाट छोरीको उपचारका लागि आउनुभएकी धनमायाँ श्रेष्ठ, भरतपुर महानगरपालिका–५ बाट आउनुभएका दण्डपाणी सापकोटालगायत धेरै बिरामीले यस्तै समस्या भोग्नु परिरहेको छ ।

भरतपुर अस्पतालसँगै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर आँखा अस्पताल, बकुलहर रत्ननगर अस्पतालसहित निजी अस्पतालमा आउने बिरामीको समस्या पनि यस्तै छ । जिल्लाभन्दा बाहिरबाट आएका बिरामीले धेरै समस्या भोग्नु परेको छ ।

नेपाल चिकित्सक सङ्घ चितवन शाखाका वरिष्ठ उपाध्यक्ष डा दिपेन्द्र न्यौपाने उपभोक्ता अदालतले चिकित्सकलाई आन्दोलनमा उत्रन बाध्य बनाएको बताउनुभयो । आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उहाँको भनाइ थियो । डा न्यौपाने भन्नुहुन्छ, “चिकित्सक मरेर अरुलाई कसरी बचाउन सक्नु !

सङ्घका जिल्ला अध्यक्ष डा उमेश नेपालले सरकारले समयमा माग सम्बोधन नगर्दा आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो,“यो हाम्रो बाध्यता हो, रहर होइन ।

चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले यथासक्य छिटो चिकित्सकका माग सम्बोधन गरेर नियमित सेवा गर्नुपर्ने बताउनुभयो । आकस्मिक कक्षमा बिरामीको चाप बढेको भन्दै उहाँले चितवन र छिमेकी जिल्लाबाट आएका बिरामीलाई आन्दोलनका कारण प्रभाव परेको स्वीकार्नु भयो ।

कारागारमा मौसमी रुघा र ज्वरोको समस्या

कारागार कार्यालय भरतपुरमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिएको छ । कारागारमा रहेका २२ जनामा यस्तो समस्या देखिएपछि उपचार सुरु गरिएको हो ।

कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार रुघा र ज्वरोले समस्या देखिएपछि उनीहरूलाई छुट्टै राखेर उपचार गरिएको हो । मौसममा आएको परिवर्तनसँगै वर्षातका कारण समस्या देखिएको उहाँले बताउनुभयो । “मनसुनमा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढेको छ । महामारी आउनसक्ने बिरामी, क्षयरोग लगायतलाई छुट्टै राखेर उपचार गर्ने गरिएको छ”, ढुङ्गानाले भन्नुभयो ।

यहाँ हाल ७१६ जना कैदीबन्दी र चारजना आश्रित बालबालिका रहेका छन् । कारागारमा ३५ जना महिला र ४७० जना पुरुषको क्षमता रहेकामा हाल ४३ जना महिला र ६८२ जना पुरुष कैदीबन्दी रहेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ