काठमाडौँ, २३ असारः लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं पूर्वसचिव उमेशप्रसाद मैनालीको प्रशासनिक ऐतिहासिक संस्मरण ‘सुनेको शासनः भोगेको प्रशासन’ लोकार्पण भएको छ ।
राजधानीमा आयोजित एक समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पुस्तक लोकार्पण गर्नुभएको हो । पुस्तक लोकार्पण गर्दै राउतले भन्नुभयो, “नेपालको प्रशासनिक क्षेत्रको यति लामो कालखण्ड समेटेर तथ्यपरक रुपमा पुस्तक लेख्नु आफैँमा चुनौती हो । मैनालीले मलाई पनि मार्गनिर्देश गर्नुभएको छ । यो पुस्तक नेपालको प्रशासनको साँचो संस्मरणात्मक इतिहास हो ।”
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले पुस्तकबारे टिप्पणी गर्दै भन्नुभयो, “विसं २००७ यताका शासन र प्रशासनका मुख्य घटना, आरोह अवरोह, विभिन्न काण्डहरु, तिनका असर तथा पात्रहरुको भूमिका सटिक रुपले समेटिएकाले यो पुस्तक सबैले पढ्नैपर्ने बनेको छ ।”
पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार हरिबहादुर थापाले भन्नुभयो, “प्रशासनिक क्षेत्रमा यसरी पुस्तकहरु लेखिएका छैनन् । यो पुस्तकले प्रशासनिक क्षेत्रभित्रका कमजोरीहरुलाई उजागर गर्दै सबल र उन्नतशील समाज निर्माणका लागि प्रेरणा दिएको छ । चाकडी, चाप्लुसी र चियोचर्चो छाडेर आफ्नो कर्तव्य निर्वाह गरी सुशासन कायम गर्नुपर्ने ऐतिहासिक तथ्यात्मक विषयवस्तुहरु भएकाले निजामती प्रशासन क्षेत्रका व्यक्तिका लागि यो पुस्तक लाभदायी छ ।” बुकहिलले प्रकाशन गरेको पुस्तक लोकार्पण समारोहमा थापाले सरल र रोमाञ्चक भाषाशैलीमा लेखिएकाले पढ्दा पाठकलाई फिक्सनको अनुभूति हुने पनि बताउनुभयो ।
पूर्वसचिव श्यामप्रसाद मैनालीले मैनाली परिवारको प्रशासनिक निष्ठा र उमेशप्रसाद मैनालीको कार्य सम्पादन तथा सरलपनको प्रशंसा गर्नुभयो ।
प्रजातन्त्रको स्थापनादेखि गणतान्त्रिक नेपालको संविधानसम्मका प्रशासनिक घटना समेटिएको यस पुस्तकमा आधुनिक प्रशासनको जग बसाल्ने २००७ को प्रशासनिक पुनःगठन, अन्तरिमकालको प्रशासनिक अस्थिरता, पहिलो निर्वाचित सरकारको प्रशासन सुधार, पञ्चायतकालीन प्रशासनिक राज्य र २०४६ साल यताको राजनीतिक प्रशासनबारे चर्चा गरिएको बुकहिलले आज एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।