गिलिमानुक (इन्डोनेसिया), २० असार : सयौँ इन्डोनेसियाली उद्धारकर्ताले शुक्रबार बालीको रिसोर्ट टापु जाने बाटोमा एउटा डुङ्गा समुद्रमा डुब्दा कम्तीमा छ जनाको मृत्यु भएपछि दर्जनौँ बेपत्ताको खोजी विस्तार गरेका छन् ।
यात्रु र चालक दलका सदस्यसहित कम्तीमा ६५ जना यात्रु बोकेको डुङ्गा पूर्वी जाभा टापुबाट बालीमा पाँच किलोमिटर (३.२ माइल) पार गर्दै गर्दा बुधबार राति खराब मौसमका राण डुबेको प्रत्यक्षदर्शी र अधिकारीहरूले बताएका छन् ।
शुक्रबार बिहानसम्म २९ जनालाई पानीबाट सुरक्षित स्थानमा लगिएको छ भने ३० जना अझै बेपत्ता छन् । उद्धार अधिकारीहरूले मृत फेला परेका छ जनामध्ये एक जना तीन वर्षीय बालक रहेको बताएका छन् । उद्धारकर्ताहरूले पूर्वी जाभा र बालीको तटरेखामा आफ्नो प्रयास विस्तार गर्दै शुक्रबार समुद्री र हवाई मार्गबाट खोजी कार्य जारी राखेको राष्ट्रिय खोजी र उद्धार एजेन्सी अपरेसनका अधिकारी रिबुट इको सुयाटनोले पत्रकारहरूलाई बताउनुभयो ।
जाभाको केटापाङ बन्दरगाहबाट बालीको गिलिमानुक बन्दरगाहसम्मको डुङ्गा मार्ग देशको सबैभन्दा व्यस्त सीमाहरूमध्ये एक हो । यो यात्रा पूरा गर्न करिब एक घण्टा लाग्छ र प्रायः कार लिएर टापुहरू बीच यात्रा गर्ने मानिसहरूद्वारा प्रयोग गरिन्छ । स्थानीय उद्धार अधिकारीहरूले केएमपी टुनु प्रतामा जया जहाज आफ्नो यात्राको २५ मिनेटमै डुबेको बताएका छन् ।
जाभास्थित सुराबाया खोजी र उद्धार एजेन्सीले खोजीका लागि शुक्रबार कम्तीमा तीन सय छ जना उद्धारकर्ता तैनाथ गरिएको बताएको छ । उद्धारकर्ताहरूले बिहीबार खोजीमा सहयोग गर्न इन्फ्लेटेबल डुङ्गाहरू, ठूलो उद्धार जहाज र हेलिकप्टर तैनाथ गरेका थिए ।