06/28/2025, 14:54:57
अनलाइन सञ्चारमाध्यममा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था

‘पत्रकार आचारसंहिता र सञ्चारमाध्यम हेर्ने एकीकृत कानुन आवश्यक छ’


काठमाडौँ, १४ असारः पत्रकार आचारसंहिता उल्लङ्घनसञ्चारमाध्यम नियमनको जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई दिनुपर्नेमा सरोकार भएका निकायका प्रतिनिधिले जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ अन्तर्गत पत्रकार आचारसंहिता अनुगमन तथा मानवअधिकार विभाग र प्रेस काउन्सिल नेपालद्वारा संयुक्त रूपमा आज काठमाडौँमा आयोजित ‘अनलाइन सञ्चारमाध्यममा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले पत्रकार आचारसंहिता र सञ्चारमाध्यम हेर्ने एकीकृत कानुन आवश्यक पर्नेमा जोड दिएका हुन् ।

महासङ्घका सचिव एवं विभागका प्रमुख रमेश खतिवडाको अध्यक्षता तथा महासङ्घका अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार र सञ्चारमाध्यम हेर्ने एकीकृत कानुन जरुरी रहेकामा जोड दिँदै एकीकृत कानुन नहुँदा भविष्यमा सबै पत्रकार र सञ्चारमाध्यमले अनावश्यक मुद्दा खेप्न बाध्य हुनुपर्ने बताएका छन् ।

महासङ्घका अध्यक्ष शर्माले पछिल्ला केही मुद्दाहरूको बहसमा महासङ्घको तर्फबाट सहभागी हुँदै गर्दा राज्यले सञ्चारमाध्यमलाई विभिन्न बहानामा कडाइ गर्न खोजेको देखिएको बताउनुभयो । पत्रकारलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गर्ने काम गरिएकाले समस्या उत्पन्न भएको भन्दै उहाँले सञ्चारमाध्यमले प्रकाशन÷प्रसारण सामग्रीका विषयमा समस्या भएमा सोको उजुरी लिने र कारबाही गर्ने जिम्मेवारी प्रेस काउन्सिललाई दिनुपर्ने धारणा राख्नुभयो ।

पत्रकार र सञ्चारमाध्यमको समस्या र समाधान हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिललाई दिनुपर्छ । काउन्सिलमा उजुरी दिएपछि आवश्यक प्रक्रिया अगाडि बढाउने हो । पछिल्लो समय सञ्चारमाध्यममाथि लगातार मुद्दा र उजुरी पर्दै आएका छन्”, अध्यक्ष शर्माले भन्नुभयो, “हामीसँग उपयुक्त कानुनको अभाव छ । विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकारको मुद्दा हेर्दा अहिले पत्रकार मारमा परेका छन् । त्यसैले पत्रकार र सञ्चारमाध्यमको मुद्दा हेर्न एकीकृत कानुन बनाएर काउन्सिललाई जिम्मेवार बनाउनुपर्छ ।” उहाँले पत्रकार आचारसंहिता सबै पत्रकारले पालना गर्नुपर्नेमा जोड दिँदै पत्रकारले आफ्नो दायित्वलाई बहन गर्दै सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।

अनलाइन सञ्चारमाध्यममा पत्रकार आचारसंहिता पालना’ विषयमा प्रस्तुति दिँदै वरिष्ठ सम्पादक हरिबहादुर थापाले ‘ब्रेकिङ’ र ‘क्लिकबेट’का कारणले डिजिटल माध्यमका सम्पादकहरू बढी जोखिममा रहेका बताउनुभयो । “क्लिकबेट र भाइरल हुने होडमा असन्तुलित सामग्रीले चर्चा पाउने आशामा समाचारीय मूल्य कम भएका विषयवस्तु प्रस्तुत हुन्छन् । एकै दिनमा धेरै र छिटो समाचार दिनुपर्ने दबाबमा काम गर्नु हुँदैन”, उहाँले भन्नुभयो, “हामीले सूचनासँगै समाचारीय मूल्यसहितका सामग्री दिनुपर्छ । समाचार सम्पादन कक्षलाई संवेदनशील बनाउन आवश्यक छ ।” आचारसंहिता उल्लङ्घनको विषय अहिले उजुरी हुँदै अदालतसम्म जाने अवस्था सृजना भएको भन्दै उहाँले सञ्चारमाध्यमसम्बन्धी विषय प्रेस काउन्सिलले हेर्नुपर्ने उहाँले बताउनुभयो ।

अनलाइन सञ्चारमाध्यम र पत्रकार आचारसंहिताको अवस्था’ विषयमा प्रस्तुति दिँदै राजेश राईले पत्रकार र सञ्चारमाध्यममाथि पछिल्लो समय राज्यले गरेको व्यवहार प्रेस स्वतन्त्रताविरोधी भएको बताउनुभयो । “संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गरेकाले सोही अनुसार कानुन बनेर कार्यान्वयन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “पत्रकार र सञ्चारमाध्यम हेर्ने एकीकृत कानुन जरुरी छ ।

प्रेस काउन्सिल नेपालका निमित्त मुख्य अधिकृत दीपक खनालले ‘पत्रकार आचारसंहिता उल्लङ्घन’को विषयमा प्रस्तुति दिँदै नयाँ सञ्चारमाध्यमका कारण प्रचारमुखी र क्लिकबेटको प्रचलन बढेकाले समस्या उत्पन्न भएको धारणा राख्नुभयो । “टिआरपी र भ्युअर वृद्धि गर्न जस्तो पनि सूचना प्रकाशन गर्ने गरिएको छ । आचारसंहिताका सन्दर्भमा गम्भीर भएको पाइँदैन । यसमा सबै गम्भीर भएर पत्रकार आचारसंहिता पालना गर्नु÷गराउनुपर्छ”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ