06/26/2025, 02:46:20

पर्यटन प्रवर्द्धनको पर्खाइमा खोटाङको होङ्मा पोखरी


खोटाङ, ११ असारः जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित पर्यटकीय सम्भावना बोकेको होङ्मा पोखरी पर्यटन प्रवर्द्धनको पर्खाइमा छ । सम्भावना बोकेर पनि ओझेलमा परेको यो पोखरीको संरक्षण र प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटन प्रवर्द्धन हुने स्थानीय बताउँछन् ।

वरिपरि हुर्कंदै गरेका गुराँस, चिमाल, इन्द्रकमलका साथै अनार, नास्पाती, स्याउलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवाले पोखरीलाई आकर्षक बनाएका छन् । सौन्दर्यकरणका लागि बगैँचा बनाउने उद्देश्यले रोपिएका फलफूलका बीचमा बाह्रै महिना पानी जम्ने पोखरी र पोखरीभरि पानी रातो देखिने राता माछा देखिन्छन् । करिब एक हजार ५०० मिटर उचाइमा यो पोखरी अवस्थित छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलका रूपमा अवस्थित होङ्मा पोखरी पर्यटन प्रवर्द्धनको पर्खाइ छ ।

पौराणिक धार्मिक ग्रन्थ हिमवतखण्डको पुराण र किरात मिथकमा समेत उल्लेख भएको यो पोखरीको संरक्षणका लागि जन्तेढुङ्गा–५ को वडा कार्यालयले रु १० लाख, कोशी प्रदेश सरकारले चार वर्षअघि रु १० लाख र दुई वर्षअघि रु पाँच लाख बजेट विनियोजन गरेर स्तरोन्नति गरिएको गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले जानकारी दिनुभयो । वडा कार्यालय र प्रदेश सरकारबाट विनियोजन गरिएको उक्त रकमले पोखरीको तल्लोभागमा तारजालीसहित ढुङ्गाको बाँध बाँधिएको छ भने वरिपरि तारजालीको घेराबार, विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने तथा सरसफाइसहित सुन्दर बनाइएको छ ।

करिब १२ रोपनी क्षेत्रफल सरकारी जमिनमा फैलिएको यो पोखरी हिन्दू र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको स्थानीय विज्ञान राईले बताउनुभयो । उहाँका अनुसार चारैतिर हरियाली डाँडापाखा रहेको यो ऐतिहासिकस्थल नजिकबाट अर्को पर्यटकीयस्थल भञ्ज्याङखर्क हुँदै छिमेकी जिल्ला भोजपुर जोड्ने ग्रामीण सडक निर्माण गरिएको छ । आर्थिक वर्ष २०७९/८० देखि सङ्घ र प्रदेश सरकारबाट समपुरक, समानीकरण, विशेष शीर्षकबाहेक अन्य कुनै निकायबाट आर्थिक सहयोग उपलब्ध नहुँदा स्तरोन्नतिमा समस्या भएको गाउँपालिकाका उपाध्यक्ष खड्काले बताउनुभयो ।

आवश्यक बजेट उपलब्ध नहुँदा पोखरीको पर्यटन प्रवर्द्धन गर्न सकिएको छैन । वर्षायाममा पोखरीको पानी धमिलो हुन्छ । यसले यहाँ पाइने राता माछा लोप हुने अवस्थामा पुगेका छन्”, उहाँले भन्नुभयो, “स्थानीय तहको स्रोतले यसको संरक्षण तथा प्रवर्द्धन गर्न सकिँदैन । सम्बन्धित मन्त्रालय (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन)मा आवश्यक बजेट उपलब्ध गराइदिन माग गरिए पनि अहिलेसम्म सम्बोधन भएको छैन ।

पौराणिक ग्रन्थ हिमवतखण्डको पुराणमा छोरी भानुमतीलाई भेट्न आउँदा विष्णुले बराहपोखरीमा नुहाउनुभएको भन्ने उल्लेख छ । होङ्मा पोखरी र बराहापोखरी बीचको धार्मिक सम्बन्धसमेत भएकाले यसलाई संरक्षण तथा प्रवर्द्धन गर्न सुरु गरिएको उपप्रमुख खड्काको भनाइ छ ।

बालाचतुर्दशीको अवसर पारेर बराहपोखरीमा लाग्ने मेलाको भोलिपल्ट होङ्मा पोखरीमा ठूलो मेला लाग्ने स्थानीयले बताएका छन् । प्राकृतिक रूपमा बनेको यो पोखरीलाई स्थानीय तह स्थापनासँगै कार्यान्वयनमा आएपछि संरक्षण तथा प्रवर्द्धन सुरु गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन वृद्धि हुँदै गएको स्थानीय वीरबल किरातीले बताउनुभयो ।

सिकारी युगमा यो पोखरीमा पानी खान आउने जीवजन्तुलाई स्थानीय किरात समुदायले ढुकेर÷पर्खेर सिकार गर्ने चलन रहेकाले यसलाई होङ्मा पोखरी भन्ने गरिएको उहाँले जानकारी दिनुभयो । “किरात राई बान्तवा भाषामा होङ्मा भनेको ढुक्नु÷पर्खनु हो । सिकारी युगमा यो पोखरीमा पानी खान आउने जीवजन्तुलाई स्थानीय किरात समुदायले पर्खेर सिकार गर्ने चलन भएकाले यसलाई होङ्मा पोखरी भनिएको हो”, उहाँले भन्नुभयो, “पोखरीको दक्षिणी भेगमा होङ्मा थान छ । यहाँ हरेक वर्षको वैशाखे पूर्णिमामा पूजाआराधना गरिन्छ ।

पोखरीसँगै रहेको होङ्मा थानमा पूजाआराधना गरेमा मानव तथा जीवजन्तुलाई शुभ हुने जनविश्वास रहिआएको छ । होङ्मा पोखरीमा परापूर्वकालमा बूढापाकाहरू भेला भएर दुःखसुखका कुरा साटासाट गर्ने प्रचलन रहेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

धार्मिक तथा पर्यटकीयस्थल होङ्मा पोखरीप्रति स्थानीयमा रहेको जनविश्वासलाई सम्बोधन गर्न गाउँपालिकाको तर्फबाट संरक्षण तथा प्रवर्द्धन गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले बताउनुभयो । “यो ऐतिहासिक पोखरी हो । यसको संरक्षण, विकास र पर्यटन प्रवर्द्धनमा पालिकाले पहल गरिरहेको छ”, उहाँले भन्नुभयो, “किरात मिथकमा उल्लेख भएको यो पोखरीलाई स्तरोन्नति गर्दै संरक्षण तथा प्रवर्द्धनमार्फत पर्यटकीय गन्तव्य बनाउने योजनामा छौँ ।

होङ्मा पोखरीको स्तरोन्नति तथा सौन्दर्यकरणका लागि निजी क्षेत्रलाई लगानी गर्न खुला गरिएको गाउँपालिकाले जनाएको छ । निजी क्षेत्रका लागि गाउँपालिकाको तर्फबाट नीति बनाएर एउटै किसिमको फलैँचा निर्माण तथा फलफूलका बिरुवा रोप्ने वातावरण सिर्जना गरिएको गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिनुभयो ।

यस पोखरीमा वैशाख पूर्णिमादेखि गुरु पूर्णिमासम्म हिन्दु धर्मावलम्बीले परेवा र बाख्राको पाठी तथा किरात समुदायले कुखुराको भालेको बलि दिएर पूजाआराधना गर्ने परम्परा रहिआएको छ । हिन्दू र किरात धर्मावलम्बीको सङ्गमस्थल होङ्मा पोखरीसम्म पुग्नका लागि स्थानीय सरकारको लगानीमा सडकमार्ग निर्माण गरेर सञ्चालनमा ल्याएकाले आवतजावतमा सहज भएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ