भोजपुर, ८ असारः यहाँको मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम ट्रेल रेस’ सम्पन्न भएको छ । खेलकुद तथा दौडका मध्यमबाट पदमार्गको प्रचारप्रसारमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
पर्यटकीयस्थल चखेवा भञ्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सीमना तावाभञ्याङ र पुनः तावाभञ्याङबाट पाँचधारे, रतिया, मझौले, हात्तीखर्क हुँदै चखेवासम्म २२ किलोमिटर दूरीमा दौड प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगितामा समूहतर्फ सिलिचोङ प्रथम, टेम्के द्वितिय र मैयुङ तृतिय बनेको आयोजक रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष एकलतर्फ निर्धारित दूरी एक घण्टा ४६ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै विशाल राई प्रथम, एक घण्टा ४८ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै सरोज लिम्बु द्वितीय र दिपक राई तृतीय बनेका छन् ।
महिला एकलतर्फ निर्धातिर दूरी दुई घण्टा २२ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै दिर्पा बस्नेत प्रथम, कृष्मा राई द्वितीय र जुलिन राई तृतीय भएका अध्यक्ष राईले जानकारी दिनुभयो ।
प्रतियोगितामा समूहतर्फ प्रथम हुनेले प्रमाणपत्रका साथमा रु ४० हजार, द्वितीयले रु ३० हजार र तृतीयले रु २० हजार पाएका छन् । एकलतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार पाएका आयोजकले जनाएको छ ।
पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यका साथ टेम्केमैयुङ गाउँपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले जनकारी दिनुभयो । गाउँपालिकाले कृषि र पर्यटनलाई जोड्दै यहाँको प्रचारप्रसार गर्ने लक्ष्यसहित बर्सेनि मुन्दुम ट्रेल रेसको आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।
मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै यहाँको पर्यटन प्रवर्द्धनसहित समग्र विकासका लागि जोड दिँदै आइएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मुन्दुम पदमार्ग सङ्घीय सरकारको एक सय गन्तव्यमा सूचीकृत मार्ग रहेकाले जिल्ला तथा छिमेकी जिल्लाका स्थानीय तहसँग सहकार्य र समन्वय गरी यहाँको विकास र विस्तार गर्ने काम भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
मैयुङ क्षेत्रमा पर्ने पर्यटकीयस्थलहरूको नामलाई समेटर तिनको प्रचारप्रसार, प्रवर्द्धन र संरक्षण गर्ने लक्ष्यले विभिन्न समूहको नामकरण गरिएको हो । प्रतियोगितामा नौ समूहको सहभागिता थियो । एक समूहमा तीन महिला र तीन पुरुष सहभागी छन् ।
वर्षाको समयमा पनि पदमार्गको भ्रमणमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजनासहित आयोजना गरिएको प्रतियोगिता सफल भएको आयोजनाले जनाएको छ ।