06/18/2025, 19:05:06

मानवअधिकार उल्लङ्घनका विषयमा छलफल


इटहरी (सुनसरी), ४ असारः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले आज मानवअधिकार विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाका पत्रकारहरू, मानवअधिकारकर्मी तथा सरोकार भएका निकायबीच पत्रकारिता अभ्यासमा देखिएका मानवअधिकार उल्लङ्घनका मुद्दाहरूबारे विस्तृत छलफल गरिएको हो ।

सहभागी पत्रकारले समाचार सङ्कलनका क्रममा भोग्नुपरेका व्यावसायिक अवरोध, अभिव्यक्ति स्वतन्त्रताको हनन, शारीरिक तथा मानसिक दुव्र्यवहार, सूचनामा पहुँचको अभाव, सरकारी कार्यालयबाट असहयोगलगायत विषयमा छलफल गर्नुभएको थियो ।

पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष एवं कान्तिपुर दैनिकका पत्रकार अर्जुन सुवेदीले छाला उद्योग अनुगमनको क्रममा स्थानीय तहका कर्मचारीले सञ्चारकर्मीलाई साथमा लैजान पाइँदैन भन्दै आफूलाई रोकेको अनुभव सुनाउनुभयो । “अधिकारकर्मी र पत्रकारले सहकार्य गर्दै जनस्वास्थ्य र पर्यावरणसम्बन्धी विषयमा अनुगमन गर्न खोज्दा अवरोध भयो, जुन अभिव्यक्ति स्वतन्त्रतामाथिको स्पष्ट हस्तक्षेप हो”, उहाँले भन्न्ुभयो ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, पत्रकार विनय ब्राहकोटी, तेजवनलगायत वक्ताले जिल्लामा पत्रकारमाथि हुने धम्की, अपमानजनक व्यवहार, सूचनाको गोप्यकरण र प्रशासनिक निकायको असहयोगलगायत विषयमा छलफल गर्नुभएको थियो । उहाँहरूले विशेष गरी ग्रामीण भेगका पत्रकार बढी जोखिममा रहेर काम गरिरहेका भन्दै सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो गर्नुभयो ।

इन्सेक कोशी प्रदेश प्रमुख मनोहर पोखरेलले मानवअधिकार उल्लङ्घनको सूचना सञ्चारकर्मीमार्फत समाजमा पुग्ने भएकाले पत्रकारको अधिकार सुरक्षित हुनु अतिआवश्यक रहेको औँल्याउनुभयो । उहाँले थप्नुभयो, “इन्सेकले जिल्लास्तरमा यस्ता कार्यक्रममार्फत पत्रकार र अधिकारकर्मीबीच सहकार्य र संयोजनको वातावरण बनाउन खोजिरहेको छ ।

सहभागीहरूले पत्रकारमाथि हुने दुव्र्यवहार, सूचनाको पहुँचमा हुने अवरोध र राज्य संयन्त्रबाट हुने दबाबको अन्त्य गर्न आग्रह गरेका थिए । साथै, पत्रकार सुरक्षासम्बन्धी स्पष्ट कानुनी व्यवस्था र स्थानीय तहका कर्मचारीलाई अभिव्यक्ति स्वतन्त्रताबारे अभिमुखीकरण आवश्यक रहेको सुझाव दिएका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ