06/15/2025, 10:00:57

‘नयाँ संस्कृति नीति’ यथाशीघ्र ल्याउने छौँ : पर्यटनमन्त्री पाण्डे


काठमाडौँ, ३१ जेठः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्न नयाँ ‘संस्कृति नीति’ यथाशीघ्र ल्याइने बताउनुभएको छ ।

सुकेधारास्थित ओजी मिडिया हाउसले आज आयोजना गरेको ‘नेपाल र जापान सांस्कृतिक आदानप्रदान कार्यक्रम’ मा मन्त्री पाण्डेले संस्कृतिबिना देश र समाजको पहिचान नहुने भन्दै संस्कृति प्राणतत्व रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पुर्खाबाट प्राप्त गरेको संस्कार र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ । हामी संस्कृतिबिना आत्मा नभएको शरीरमात्र हुन्छौँ । त्यसैले हाम्रो तीनै तहमा संस्कृति संरक्षण र प्रवर्द्धनका गतिविधिलाई बढाउन मन्त्रिपरिषद्को बैठकबाट ‘संस्कृति नीति’ पारित गर्ने तयारीमा छौँ ।

मन्त्री पाण्डेले संस्कृतिसँगै भाषाले देश र मानिसलाई समृद्ध बनाउनेमा जोड दिनुभयो । नेपालमा आएका विदेशी पाहुनालाई मौलिक संस्कृतिसँगै उहाँहरूले बुझ्ने भाषामा नेपालबारे जानकारी दिन सके त्यसले सामीप्यता बढाउने उहाँले बताउनुभयो ।

जापान वा अन्य देशको भाषा सिक्दा हामी वा हाम्रो राष्ट्रियता कमजोर हुँदैन, यसले हामीलाई समृद्ध बनाउँछ । भाषाको ज्ञान हुनु भनेको हामी सम्पन्न हुनु हो, यसले देशलाई मात्र नभई भाषा ज्ञातालाई पनि उत्तिकै फाइदा पुग्छ”, मन्त्री पाण्डेले भन्नुभयो । उहाँले भाषासँग जोडिएका सभ्यता, संस्कृति, वेशभूषा, परिकार र विविधतापूर्ण शैलीमार्फत सु–संस्कार आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सल्लाहकार भूपेन्द्रजङ्ग शाहीले नेपाल र जापानका कलाकारहरूको संयुक्त प्रस्तुति तथा संस्कृतिको माध्यमले सद्भाव बढ्ने बताउनुभयो । “नेपाली कला र संस्कृतिका हिसाबले धनी छौँ, हाम्रो विविधता नै सुन्दरता हो । त्यसैले हामीले जापानी कलाकार यहाँ ल्याएर संस्कृति आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम गरेका हौँ । यसले आपसी सद्भाव बढाउने छ भने आगामी दिनमा संस्कृति प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्त छौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा जापनिज जादुगर ज्याक टुवेल्भले जादु प्रस्तुत गर्नुभएको थियो भने नेपाली कलाकारहरू टीका पुन र डेविड शङ्करले गीत गाउनुभएको थियो । उक्त अवसरमा जापनिज जादुगर टुवेल्भ, नेपाली गायक शङ्कर, निर्देशक लक्ष्मण सुवेदी, सञ्चारकर्मी सुष्मा केसी, गायिका पुन लगायतलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ