अन्नपूर्ण (कास्की), २३ जेठः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ ।
पर्यटन व्यावसायी महिला सङ्घ नेपाल (टेवान) पोखराको पोखरामा भएको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री पाण्डेले निजी क्षेत्रको लगानीका कारण पर्यटन क्षेत्र समृद्ध हँुदै गएको बताउनुभयो । पर्वतको कुश्मामा बञ्जीजम्प बनेपछि त्यहाँ दैनिक एक हजार व्यक्ति दैनिक अवलोकनका लागि पुग्ने गरेका उल्लेख गर्दै उहाँले भन्नुभयो– “कुश्मामा बञ्जीजम्प बन्नु अघि कसैले पनि हेर्दैनथे । अहिले एउटा बञ्जीजम्प र अरु संचरना बनेपछि उल्लेख्य सङ्ख्यामा पर्यटक त्यहाँ पुग्छन् । त्यसैले निजी क्षेत्र अग्रसर नभइकन पर्यटन क्षेत्र अगाडि बढ्न सक्दैन ।”
लगानी गर्न चाहने निजी क्षेत्रलाई गलत नजरबाट नहेर्न मन्त्री पाण्डेले आग्रह गर्नुभयो । “निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानीका लागि निम्तो दिनुपर्छ । हामीले केही कुरामा ध्यान भने दिनुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले करछली नगर्ने कानुन बनाउनुपर्छ, निजी क्षेत्रले श्रमको शोषण गर्न पाइँदैन र उपभोक्तालाई अत्यधिक ठगी गर्न पाइदैन ।”
कार्यक्रममा मन्त्री पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएको बताउनुभयो । यसको विकास र प्रवर्द्धनका लागि समन्वयात्मक ढङ्गले अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । उहाँले हिमालसँगै पर्यटकीय क्षेत्रको ब्रान्डिङ र प्रचारप्रसारका लागि नीतिगत रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।