काठमाडौँ, २२ जेठ : सभामुख देवराज घिमिरेले नेपाललाई ललितकलाका माध्यमबाट विश्वमा चिनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले ललितकला देशको पहिचान भएको बताउँदै यसको संरक्षण र प्रवर्द्धन गर्न जरूरी रहेको बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा काठमाडौँको नक्सालमा जारी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’को आज अवलोकन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सभामुख घिमिरेले भन्नुभयो, “ललितकला भन्नाले हाम्रो इतिहास कसरी आएको छ, हाम्रो वर्तमान के छ ? र भविष्यले के गर्नुपर्छ भन्ने कुरा प्रदर्शनीका कलाकृतिले महत्त्वपूर्ण ढङ्गबाट, देखाएको छ । नेपाललाई विश्वमा चिनाउनुपर्दा ललितकला क्षेत्रबाट चिनाउनुपर्छ भन्ने कुराको सुरुआत यस प्रदर्शनीले गरेको छ । यो सुरूआतलाई ऐतिहासिक बनाएर लान सकिन्छ र लानुपर्छ भन्ने लाग्छ ।”
यस सिलसिलामा उहाँले कर्णाली प्रदेशका लोपोन्मुख राउटे समुदायका कलाकारसँग पनि साक्षात्कार गर्नुभयो । राउटेका कला प्रदर्शनी अवलोकनपश्चात प्रतिक्रिया दिँदै घिमिरेले भन्नुभयो, “मलाई यस प्रदर्शनी धेरै समय लिएर हेर्नुपर्छ भन्ने लाग्यो । सातैवटा प्रदेशबाट प्रतिस्पर्धामा ल्याएर त्यहाँको कलाको विकास गरेर त्यहाँबाट छानिएकाहरू यहाँ आउने कुरा आफैँमा एउटा महत्वपूर्ण कुरा हो, राउटेका कला पनि समावेश हुनु महत्त्वपूर्ण हो ।”

यसरी कला प्रदर्शनी आयोजनाका लागि प्रतिष्ठानले ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’मार्फत छानिएका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाकृति गरी देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकला/मूर्तिकला, वास्तुकला, समसामयिक/आधुनिक चित्रकला/मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायत विधा समावेश छ । यहाँ विविध विधाका ६०५ कलाकारका ६५० भन्दाबढी कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को आयोजना गरिएको छ ।
जेठ १५ देखि सुरू भई जेठ ३१ गतेसम्म चल्ने प्रदर्शनीमा ललितकलाका विविध विधाका साथै मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किराँतका कलाको विशेष सहभागिता रहेको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










