05/31/2025, 19:52:04

बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ


वालिङ (स्याङ्जा), १६ जेठः यहाँका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहनुभएको हो ।
उहाँले विसं २०७० मा ‘जुना बाख्रापालन फर्म’ दर्ता गरी व्यवसाय सुरु गर्नुभएको थियो । पछिल्लो समय गुरुङले दूधबाट चिज उत्पादन गरिरहनुभएको छ । यहाँ अन्य किसानले पनि गाईभैँसीको दूधबाट चिज उत्पादन गरिरहेका बेला ओकादीका गुरुङले भने जिल्लामै पहिलो पटक बाख्राको दूधबाट चिज उत्पादन गर्नुभएको हो ।
गुरुङको फर्ममा हाल सानाठूला गरी ५२ वटा बाख्रा छन् । यी स्थानीय खरी जातको माउ र विदेशी सानन जातको बोकाबीचमा क्रस गराइएका बाख्राहरू हुन्् ।  तीमध्ये १६ वटाले करिब १० लिटर दूध दिन्छन्, त्यसबाट दैनिक डेढ केजीसम्म चिज उत्पादन हुने गरेको छ । यसरी दिनहुँ उत्पादन हुने चिजलाई हरेक साताको एकदिन बजारीकरण गरिरहेको गुरुङले जानकारी दिनुभयो ।
“यहाँ उत्पादन भएको चिज पोखराका ठूला होटलहरूमा बिक्री गरिरहेको छु । प्रतिकेजी रु दुई हजारका दरले चिज बिक्री हुने गरेको छ । सुरुमा केही समस्या भए पनि पछिल्लो केही महिनायता मासिक १५० केजी चिज बिक्रीबाट रु तीन लाखसम्म आम्दानी गरिरहेको छु”, उहाँले भन्नुभयो,“चिजको माग उच्च छ, पु¥याउनै सकिएको छैन । उत्पादन वृद्धि गर्नका लागि दुधालु बाख्रा थप्ने तयारीमा छु ।”
बाख्राको दूधबाट चिज बनाउने सीप गुरुङले तनहुँको बन्दीपुरमा सिक्नुभएको थियो । त्यहाँ सिकेको सीपलाई घरमै प्रयोगात्मक अभ्यास गर्दै उहाँ व्यावसायिक उत्पादन गर्न थालेको बताउनुभयो । हाल उत्पादन भएको चिजलाई थप गुणस्तरीय बनाउने, प्याकेजिङ सुधार र ब्रान्डिङ गर्ने काम भइरहेको गुरुङले बताउनुभयो ।
विगतमा भारतमा वायरिङसम्बन्धी काम गर्दै आउनुभएका गुरुङ अरूको भन्दा फरक व्यवसाय गर्ने सोचसहित स्वदेश फर्किनुभएको थियो । त्यही सोचका साथ विसं २०७० मा १२ वटा बाख्राबाट यो व्यवसायको जन्म भएको हो ।  “बाख्रा खरिद तथा खोर निर्माणमा रु तीन लाख ५० हजार लगानी गरेको थिए । युवाहरूका लागि नमूना बाख्रा गाउँ अभियानमा जोडिएर अगाडि बढेको थिए हाल महिनामै सुरुको लगानी जसत आम्दानी गरिरहेको छु”, गुरुङले सुनाउनुभयो ।
नमूना बाख्रा गाउँ अभियानका अध्यक्ष सुशील अर्याल गुरुङले गरिरहेको काम फरक र अन्य युवाका लागि पनि अनुकरणीय रहेको बताउनुहुन्छ । “केही फरक सोचसहित काम गरेमा नेपालमै प्रशस्त सम्भावना छ । धेरैलाई बाख्राको दूध पनि उपयोग गर्न सकिन्छ भन्ने थाहा पनि छैन तर उहाँले हाम्रै अभियानबाट त्यसको प्रयोग विधि सिकेर राम्रो गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।


लेखकको बारेमा

रासस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ