बिहिबार, पुष ११, २०८१

एमालेका नेताहरुले भेटे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई


२० भदौ, काठमाडौं । नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको नेतृत्वमा काठमाडौं जिल्लाका नेताहरुले पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

उपत्यकाका नदी किनारका जमिनबारे सर्वोच्च अदालतले गरेको आदेश र काठमाडौंका मेयरले जारी गरेको सूचनाबारे अध्यक्ष प्रचण्डसँग कुरा गरिएको भट्टराईले जनाएका छन् । भेटपछि भट्टराईले सरकार भ्याकेटमा जाँदा आफ्नो दलको समर्थन रहने प्रचण्डले बताएको उल्लेख गरेका छन् । यसअघि भट्टराई सहितका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यही विषयमा भेटेर छलफल गरेका थिए ।

प्रतिनिधिमण्डलमा नेकपा एमालेका नेता राजन भट्टराई, काठमाडौँ महानगरपालिकामा पूर्वप्रमुख विद्यासुन्दर शाक्य, नेताहरू आनन्द पोखरेल, रामेश्वर फुयाल, दीपक निरौला लगायतको सहभागिता रहेको थियो । समस्या सम्बोधन गर्न आफ्नोतर्फबाट गर्नुपर्ने पहल गर्न अध्यक्ष प्रचण्ड सकारात्मक रहेको भेटपछि एमाले बागमती प्रदेश इन्चार्ज समेत रहेका राजन भट्टराईले बताए ।

अदालतको आदेशअनुसार काठमाडौँको नदी, खोला र राजकुलो समेत दायाँबायाँ २०÷२० मिटर छाड्नुपर्दा दसौँ हजार घरपरिवार विस्थापित हुने र पशुपतिनाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने बताए । काठमाडौँ महानगरपालिका प्रमुखले कार्यान्वयन गर्ने एकल निर्णय गरेपछि थप समस्या आएको भन्दै उनीहरुले यो फैसला कार्यान्वयन भएमा आर्थिक रूपमा अराजकता पैदा हुने बताए । आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर भ्याकेटमा जान सुझाव दिएको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेको जानकारी गराउँदै प्रतिनिधिमण्डलका सदस्यहरूले प्रमुख प्रतिपक्ष दलका नेता र पार्टी अध्यक्षको रूपमा प्रचण्डलाई भेट्न आएको बताएका थिए ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading