गण्डकी, १३ जेठ : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक भएको बताउनुभएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको २५ औँ वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले विधिको शासन लोकतन्त्र र मानव अधिकारको मेरुदण्ड भएको बताउनुभयो ।
आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् भए नभएकोबारे ख्याल गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिने बताउनुभयो । मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षणमा आयोगले आफ्नो स्थापनाकालदेखि पु-याएको योगदानको चर्चा प्रमुख भट्टले गर्नुभयो ।
मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गरी स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आधारभूत अधिकार रहेको र यी अधिकारहरू मानिसको मर्यादा, इज्जत र प्रतिष्ठाका लागि सिर्जित भएको उहाँको भनाइ छ ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नितु गड्तौलाले अधिकार र दायित्वको समुचित प्रयोग गर्दै मानव अधिकार मैत्री राष्ट्र र समाज निर्माणतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले लोकतन्त्र र मानव अधिकारी एक अर्काका परिपुरक भएको बताउँदै मानव अधिकार लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्नुभयो ।