पर्वत, १० जेठः जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजका ३७ वर्षीय विनायक जय मल्लले विश्वको सर्वोच्च शिखर सगरमाथाको पाँचौँ पटक सफल आरोहण गर्नुभएको छ । उहाँले सन् २०१७ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो ।
इलाइट एक्सपेडमा कार्यरत अन्तरराष्ट्रियस्तरको गाइडको अनुमतिपत्र प्राप्त गर्नुभएका मल्लले म्याग्दीको धवलागिरि गाउँपालिकाको मुदीमा अवस्थित धौलागिरि हिमालमा सन् २०१७ मा आरोहण गर्नुभएको थियो । मनास्लुमा पाँच र ल्होत्से हिमाल एकपटक आरोहण गरेको उहाँले बताउनुभयो ।
“आरोहणबाहेक उद्धारमा पनि धेरै ठाउँमा पुगेको छु, मृत्युको मुखमा पुगेका आरोहीलाई नयाँ जीवन दिन पाउँदा पेसाप्रति गर्व लाग्छ”, मल्लले भन्नुभयो । आठ हजार मिटर अग्ला हिमालबाहेक युरोप, इन्डोनेसिया, पाकिस्तानका हिमालमा दर्जनभन्दा बढी पटक आरोहण गरिसकेको उहाँले जानकारी दिनुभयो ।
हिमाल आरोहणजस्तो चुनौतीपूर्ण यात्रामा निरन्तर समर्पण, साहस र मेहनत आवश्यक पर्ने मल्लले बताउनुभयो । हिमाल आरोहण टोलीसँगै केही दिनमा पाकिस्तान जान लागेको उहाँले बताउनुभयो ।
म्याग्दी र पर्वत क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सक्रिय रहनुभएका मल्लले कीर्तिमानी आरोही निर्मल पुर्जाबाट प्रभावित भएको बताउनुभयो । उहाँले हिमाल आरोहणसँगै पर्यटन प्रवर्द्धनका क्षेत्रमा आगामी दिनमा थप सक्रिय उल्लेख गर्नुभयो । उहाँले नेपाल र विश्वका विभिन्न देशमा रहेका आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।