05/14/2025, 16:19:45

संघीयताका विरोधी संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू नै छन् : माओवादी उप-महासचिव शर्मा


३१ वैशाख, काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीयता ल्याउने पार्टीहरू नै संघीयता विरोधी रहेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२/८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि संघले विनियोजन गर्ने परिपाटी रहेको बताउँदै उनले प्रदेश र स्थानीय तहप्रति संघ सरकारले विश्वास नगरेको आरोप लगाए ।

यसबाट संघीयताको विरोधी अरू कोही नभएर संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू नै रहेको पुष्टि भएको उनले जिकिर गरे । ‘संघीयता कार्यान्वयनमा मेन्टालिटीको कुरा गर्दा खेरी बजेट कहाँ कति दोस्रो कुरा हो, ५० हजार, २५ हजारका संघले हाल्ने के हो त त्यो ? त्यो मेन्टालिटी त हो’  पूर्वअर्थमन्त्री समेत रहेका शर्माले भने, ‘तल संयन्त्र छ, संरचना छ, उसलाई कार्यान्वयन गर्ने विश्वास छैन, दिइँदैन । त्यो खालको मनोविज्ञानले काम गरिरहेको छ ।

उनले थपे, ‘संघीयताको विरोधी अरू कोही होइन, संघीयताका विरोधी संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू नै छन् । आफू सत्तामा पुग्दा कार्यान्वयन भइराखेको छैन । कानुन बनिराखेको छैन । कानुन नबनेर तल प्रदेशले आफ्ना अधिकार पाइराखेको छैन । बनेका कानुनको अधिकार हस्तान्तरण भएको छैन । बनेको कानुन कार्यान्वयन हुँदैन । तल दिइएको बजेट फिर्ता ल्याइन्छ । कुन योजना कसको भनेर छुटाइएको छैन । यसले गर्दा हाम्रो संघीयता प्रतिको बुझाइ नै बेठिक छ ।

उहाँले संघीयता कार्यान्वयनका लागि संघीयता पक्षधरहरूले दबाब दिनुपर्ने धारणा राखे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ