01/27/2026, 07:18:48
मङ्गलबार, माघ १३, २०८२

निःशुल्क आँखा परीक्षण गराउन पाउँदा वृद्धवृद्धा खुसी


टक्सार (भोजपुर), २९ वैशाखः भोजपुरको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा सञ्चालित दुई दिने आँखा स्वास्थ्य शिविरमा ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित हतुवागढी आँखा उपचार केन्द्र घोडेटारको आयोजनामा भएको सो शिविरमा ३०५ जनाले आँखा जाँचको सेवा लिएका थिए । शिविरमा मोतिविन्दु र मासु पलाएको समस्याको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको थियो ।

विराटनगर आँखा अस्पताल रानीले प्राविधिक सहयोग गरेको शिविरमा आर्थिक अवस्था कमजोर भएका विरामीलाई पायक पर्ने स्थानमै उपचार गर्न पाउँदा राहत मिलेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएर अन्यत्र उपचारमा जान नपाएका पालिकावासीलाई स्थानीयस्तरमै सञ्चालन हुने स्वास्थ्य कार्यक्रमले राहत पु¥याउँदै आएको छ ।

ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका आँखा शिविर प्रभावकारी बनेको हतुवागढी आँखा उपचार केन्द्रका प्रमुख विजय तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “शिविरमा विज्ञ विशेषज्ञ डाक्टरहरुद्वारा उपचार गरिने भएकाले शिविरहरु प्रभावकारी छन, यसले आर्थिक अवस्थाका कारण सेवा पाउनबाट वञ्चित नागरिकलाई पनि सहजता दिएको छ ।

गाउँघरमै निःशुल्क आँखाको परीक्षण, उपचार तथा शल्यक्रिया सेवा पाएपछि स्थानीयमा पनि उत्साह देखिएको छ । शल्यक्रियामार्फत आँखा देख्न पाएकोमा वृद्धवृद्धा खुसी भएका थिए ।