मकवानपुर, २५ वैशाख : बागमती प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई प्रदेशभित्र सरकारी कामकाजको भाषाका रूपमा गत वर्षदेखि प्रयोगमा ल्याएको उपलक्ष्यमा प्रदेशभर विभिन्न कार्यक्रम गरेको छ । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको अगुवाइमा हेटौँडामा वृहत र्याली एवं विशेष कार्यक्रम गरिएको छ ।
बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिंह लामा तामाङले सो कार्यक्रमको उद्घाटन गर्दै प्रदेशका विभिन्न समुदायको धर्म, संस्कृति, रीतिरिवाज, कला र भाषाको संवर्द्धन गर्न प्रदेश सरकार संवेदनशील रहेको बताउनुभयो । उहाँले प्रदेशभित्र नेवारी र तामाङ भाषाको सरकारी कामकाजको भाषालाई प्रयोगमा ल्याउन सरकारले आवश्यक ऐन कानुनको तर्जुमा गरिसकेकाले अब आगामी आर्थिक वर्षको प्रथम चौमासिभित्र भाषागत निमावली ल्याउनेतर्फ आवश्यक मस्यौंदा तयार भइरहेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री तामाङले प्रदेशमा स्थायी बसोबास गरेका विभिन्न समुदायको भाषा, संंस्कृति, कला, रीतिरिवाज र वेषभूषालाई सरकारले प्रदेशको सम्पदाको रूपमा परिभाषित गरेको उल्लेख गर्दै भाषा, संस्कृति, एवं सङ्ग्रहालयको महत्त्वले पर्यटन क्षेत्रको विकासलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री तामाङले प्रदेशसभा बैठकमा राष्ट्रिय महत्त्वको विषय, विशेष र शून्य समय र विधेयकमाथि छलफलमा भएका विचारलाई यसै आर्थिक वर्षदेखि नेवारी र तामाङ भाषामा अनुवाद गरी सञ्चार माध्यममा प्रयोगमा ल्याइने जानकारी दिनुभयो ।
प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरीले प्रदेश सरकारले विभिन्न समुदायको चाडपर्व, संस्कृति, कला, वेशभूसालाई संवर्द्धन गरी पर्यटन क्षेत्रको विकासलाई निरन्तता दिने र सरकारले अब प्रत्येका जिल्लामा राष्ट्रिय चाडपर्वलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमको लागि बजेट र वहुवर्षीय योजनालाई कार्यान्वयन गर्ने बताउनुभयो ।