05/01/2025, 15:51:08

‘कानुनी उपचारले मात्र छाउपडी प्रथा निवारण सम्भव छैन’

©PHOTO CREDIT : READ NEPAL

काठमाडौँ, १८ वैशाख : छाउपडी प्रथाको निवारण कानुनी उपचारले मात्र सम्भव नहुने सरोकारवालाले सुझाव दिएका छन् ।

आज यहाँ ग्रिन तारा नेपाल तथा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल)द्वारा आयोजित कार्यक्रममा छाउपडी प्रथा स्थानीय संस्कृति, परम्परासँग सम्बन्धित भएकाले बाह्य तथा आन्तरिक कारणले प्रभाव पार्ने गरेको जनाइएको छ ।

सुरक्षित महिनावारी र प्रजनन स्वास्थ्यमा पहुँचका लागि खप्तड छाना गाउँपालिका, बझाङ तथा खप्तड छेडेदह गाउँपालिका बाजुरामा जनचेतनामूलक कार्यक्रम सञ्चालनको चार वर्ष पूरा गरेको अवसरमा यसका उपलब्धि र चुनौती सार्वजनिक गरिएको थियो ।

PHOTO CREDIT : READ NEPAL

रिड नेपालका देशीय निर्देशक भीम बोगटीले महिनावारी र प्रजनन स्वास्थ्यमा सुधारहरु देखिएको बताउनुभयो । सामाजिक मूल्यमान्यता, धार्मिक विश्वास तथा परम्परागत प्रचलनले जरो गाडेकाले छाउपडी प्रथा अझै प्रचलित रहेको उहाँको भनाइ छ ।

व्यवहार परिवर्तन भनेको लामो समयसम्म निरन्तर चलिरहने प्रक्रिया भएकाले सरोकारवालाबाट उत्प्रेरणा, नियमित अनुगमन, वकालत तथा सहयोगको आवश्यकता जरुरी देखिन्छ”, परियोजना प्रमुख सलिता गुरुङले भन्नुभयो ।

PHOTO CREDIT : READ NEPAL

रिड नेपालले सङ्घीय जर्मन सरकार बिएमजेड, करुणा जर्मनी तथा करुणा ट्रष्टबाट आर्थिक तथा प्राविधक सहयोगमा सेप्टेम्बर २०२१ देखि अप्रिल २०२५ सम्म यस क्षेत्रमा उक्त परियोजना सञ्चालन गरेको थियो ।

नेपालमा छाउपडी प्रथाको अन्त्य २०६४ सालमै घोषणा भएको थियो । तर छाउपडी तथा महिनावारीसम्बन्धी गाउँ वा समुदायअनुसार भिन्नभिन्न प्रकारका व्यवहारहरू अझै प्रचलनमा छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ