04/24/2025, 11:17:19

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै


महोत्तरी, ११ वैशाखः महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी क्षेत्रमा खाना पकाउन ग्यास चुल्होको प्रयोग बढ्दै गए पनि ग्रामीण भेगमा अझै ‘गुइँठा’ कै भर पर्ने गृहिणी बर्खायामका लागि भन्दै यसको जोहो गर्न लागेका हुन् ।

बर्खाको समय सुरु हुन केही महिना बाँकी छ तर यहाँ भने अहिलेदेखि नै गुइँठाको व्यवस्थापन गर्ने गरिनछ । हिउँदभरि सडक किनार र चरन क्षेत्रका चउर चाहर्दै गोबर सङ्कलन गर्नु यहाँका ग्रामीण महिलाको नियमित तालिका नै हो । गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरन क्षेत्रबाट बटुलेर ल्याएको गोबरबाट खाना पकाउने दाउरा प्रयोजनका लागि ‘गुइँठा’ बनाउँछन् । हिउँदमा बनाइएका ‘गुइँठा’ वेशाख लागेपछि बर्खाकालका लागि सुरक्षित साथ राख्ने यहाँको चलन हो । हाल यहाँ सो कार्य भइरहेको छ ।

हिउँदमा गोबर पथारेर विभिन्न आकारका ‘गुइँठा’ बनाइन्छन् । यसबाट ‘चिपरी’ र ‘गोरहा’ बनाइन्छन् । घरका भित्तामा पथारेर सुकाइएर बनाइएका गोबरलाई ‘चिपरी’ भनिन्छन् । यसैगरी, गोबर पथारेर त्यसभित्र ससाना भिक्रा वा पराल राखी डोल्याएर सुकाइने ‘गोरहा’ र यी दुवैलाई दुवैलाई ‘गुइँठा’ भनिन्छ ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । नगर क्षेत्रका भित्री बस्ती पनि ‘गुइँठा’ को प्रयोग भइरहेकै छ । बर्खाकालमा खेतबारीका झिक्राझिक्री भिजेर नबल्ने हुँदा गृहिणी त्यस समयका लागि अहिलेदेखि नै ‘गुइँठा’ बनाएर राख्छन् । “खाना त पकाउनै पर्छ, बर्खामा दाउरा कहाँ खोज्नु ? त्यसैले अहिले नै यिनलाई जोगाएर राख्नु परेको हो”, भङ्गाहा नगरपालिका–४ रामनगरकी पानवती दनुवार भन्नुहुन्छ, “अहिले जोगाइएन भने झमझम पानी परेका बेला दुःख पाइन्छ ।

‘गुइँठा’ बनाउन पैसा खर्च गर्नु नपर्ने र एकपटक सल्काएपछि आगो ननिभ्ने हुँदा खाना पकाउने प्रयोजनका लागि गृहिणीको रोजाइमा पर्ने गरेको छ । अझ गरिब बस्तीमा त ग्यासचुल्हा र काठका दाउराको जोहो गर्न नसक्ने हुँदा ‘गुइँठा’ अनिवार्यजस्तै छ । त्यसैले यी बस्तीका गृहिणी कात्तिकदेखि चैतसम्म गोबर सङ्कलन गरेर ‘चिपरी’ र ‘गोरहा’ पथार्ने र तिनलाई राम्ररी सुकाउने इन्तजाम गर्छन् । ‘चिपरी’ घरगोठका भित्ताभरि पथारिन्छन् । सुक्दै गएपछि एक ठाउँमा थुपारिन्छ । ‘गोरहा’ भने पथारेर घाम लाग्ने ठाउँमा चाङ लगाएर सुकाइन्छ । यसरी वैशाख लागेपछि सुकेका ‘चिपरी’ र ‘गोरहा’ गोठको एकछेउ वा सानो छाप्रो बनाएर थन्क्याइन्छ । असारदेखि असोजसम्म त्यसको प्रयोग हुन्छ ।

खाने चामल, पीठो त बनिबुतोबाट पाइएला तर दाउराको धेरै समस्या पर्छ”, औरही नगरपालिका–७ भोइलटिम्कियाकी भुट्टी सदा मुसहर भन्नुहुन्छ, “त्यसैले अहिलेदेखि नै पराले झुप्रामै गुइँठा राख्नु परेको हो ।

‘गुइँठा’ बर्सायाममा सहजताका लागि मात्रै होइन, यसमा पाकेका खानेकुरा स्वादिला हुने भएकाले पनि ग्रामीण बस्तीका साना किसान र कतिपय मध्यमवर्गीय परिवारको पनि रोजाइमा पर्ने गरेको छ । गौशाला–६ जमुनियाँकी रामपरी थारू इन्धनका लागि अन्य साधनको जोहो गर्न नसक्ने आर्थिक रूपमा विपन्नहरूका लागि गुइँठाले निकै राहत दिने गरेको बताउनुहुन्छ ।

बर्दिबास नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य निरीक्षक सुरेश पासवान ‘गुइँठा’ मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने भएकाले यो धेरैको रोजाइमा पर्ने गरेको बताउनुहुन्छ । यद्यपि यसको धुवाँ खाना पकाउने गृहिणीको स्वास्थ्यमा अत्यन्त प्रतिकूल हुनेहुँदा विशेष सतर्कता भने आवश्यक रहेको उहाँको भनाइ छ । “खासगरी ग्रामीण महिलामा श्वासप्रश्वासको समस्या धेरैजसो भान्साघरको धुवाँबाटै हुने गरेको पाइन्छ । आर्थिक अवस्थाले वैकल्पिक इन्धनको जोहो गर्न नसक्नेहरूका लागि ‘गुइँठा’को प्रयोग अनिवार्य बाध्यता पनि हो । यसर्थ धेरै धुवाँ हुने गरी होइन, हावा ओहोरदोहोर हुने ठाउँमा खाना पकाउने र अन्य स्वास्थ्य सतर्कता अपनाउन जरूरी हुन्छ”, वरिष्ठ स्वास्थ्य निरीक्षक पासवानको सुझाव छ ।

महोत्तरीसहित मधेसका जिल्लामा धेरैजसो गोबर खाना पकाउने इन्धन प्रयोजनमा खपत हुने गरेको छ । यसले खेतीका लागि रासायनिक मलको निर्भरता बढाएको भङ्गाहा–४ रामनगरका ८० वर्षीय किसान दीपबहादुर फुयालको बुझाइ छ । “कम्पोष्ट मल बनाइने गोबर दाउरा बन्छ । कम्पोष्ट मल नभएपछि खेतबारी मलिलो हुन नसक्दा उत्पादन घट्दो छ । रासायनिक मलमा निर्भरता बढ्दो छ”, उहाँले भन्नुभयो ।

इन्धनमा गोबरको विकल्प खोज्नैपर्ने फुयालसहितका पाका किसानको मत छ । “कम्पोष्ट मलको अभावमा जग्गामा उत्पादन घट्दो छ । सरकारले किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वनउपज (दाउरा) मा पहुँच दिन आवश्यक पर्छ”, फुयालकै छिमेकी ८५ वर्षीय छविलाल दाहालले भन्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ