वीरगञ्ज (पर्सा), ५ साउनः जिल्ला प्रहरी कार्यालय पर्साले गत आर्थिक वर्षमा एक हजार पाँच सय एघार जना फरार प्रतिवादी पक्राउ गरेको छ । गत आव २०८१/८२ मा लक्ष्यको दोब्बरभन्दा धेरै फरार प्रतिवादी पक्राउ गरेर कानुनी दायरामा ल्याएको कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो ।
उहाँले गत आर्थिक वर्षमा विभिन्न अदालतमा मुद्दा दर्ता भई नेपाल तथा भारतको विभिन्न स्थानमा लुकिछिपी बसेर फरार रहेका तथा अदालतबाट अपराध ठहर भए पनि पक्राउ नपरेका प्रतिवादीलाई धमाधम पक्राउ गरेको जानकारी दिनुभयो ।
‘‘गत आर्थिक वर्षमा हामीले करिब छ सय भन्दा धेरै फरार प्रतिवादी पक्राउ गर्ने लक्ष्य राखेका थियौँ,’’ उहाँले भन्नुभयो, ‘‘हामीले फरार भएका तथा अदालतबाट अपराध ठहर भएका प्रतिवादी पक्राउ नहुँदा पीडितले वास्तविक न्याय प्राप्त नहुने र न्याय मर्ने भन्दै विशेष अभियान चलाएसँगै सो सङ्ख्यामा रहेका फरार प्रतिवादी पक्राउ गर्न सकेका हौँ ।’’
प्रहरी प्रमुख मिश्रले फरार प्रतिवादी पक्राउ नपर्दा समाजमा अराजकता तथा नैराश्यता छाउने प्रहरीले उच्च प्रथामिकता राखेर पक्राउ गरेको बताउनुभयो । पर्सा प्रहरीले विगत १२ वर्षदेखि फरार प्रतिवादी पक्राउ गरेर अदालतको फैसलासमेत कार्यान्वयनमा ल्याएको हो ।
‘‘पक्राउ परेका सबै खालका प्रतिवादी एकमुष्टमा ७३ वर्ष दुई महिना कैद सजाय भोग्नेछन्,’’उहाँले भन्नुभयो, ‘‘अदालतले आर्थिक जरिवाना गरेका फरार प्रतिवादीबाट रु तीन करोड ५५ लाख १२ हजार नौ सय ५६ जरिवानासमेत असुलउपर गरेका छौँ ।’’ पर्सा प्रहरी प्रमुख मिश्रले अब जिल्लामा कुनै बाहानामा फैसलाको दबाब र प्रभावमा फरार प्रतिवादीहरु उम्कन नसक्ने पनि दाबी गर्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














