04/13/2025, 02:31:12

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा


काठमाडौँ, २९ चैतः केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न थालेको छ । अभिनेता दयाहाङ राईले अभिनय गर्नुभएको चलचित्र ‘अञ्जिला’ गत फागुन २९ र ‘राजगञ्ज’ यही चैत १ देखि प्रदर्शन भइरहेका छन् । एक दिनको फरकमा एकै अभिनेताको दुई चलचित्र प्रदर्शन हुँदा त्यसको असर पर्ने अनुमान गरिएको थियो ।

सोही अनुसार अञ्जिला व्यावसायिक रूपमा सफल भए पनि राजगञ्जले उल्लेख्य सफलता हासिल गर्न सकेको छैन । आज चैत २९ देखि अभिनेता दिव्यदेव पन्तले अभिनय गर्नुभएको दुई चलचित्र ‘कर्मा’ र ‘पिताम्बर’ एकसाथ प्रदर्शन भएका छन् । नाटक हुँदै चलचित्रमा अभिनेता बन्नुभएका पन्तले ‘कर्मा’मा नेपाल प्रहरी र ‘पिताम्बर’मा खलनायकको भूमिका निर्वाह गर्नुभएको छ । आफ्नो पात्रलाई जीवन्त बनाउन हरप्रयास गर्नुहुने अभिनेता पन्तले नयाँ अनुभव भइरहेको बताउनुभयो ।

“दुई चलचित्र एकसाथ प्रदर्शन भएको पहिलोपटक हो । दुवै चलचित्रमा मैले आफू देखिने भन्दा पनि पात्रलाई पर्दामा ल्याउने कोसिस गरेको छु । अभिनेता म भए पनि पर्दामा देखिने पात्र फरक भएकाले दर्शकले त्यहाँ दिव्य नभई हेर्ने चलचित्रको पात्र पाउनु हुनेछ”, पन्तले भन्नुभयो ।

नेपाली चलचित्रमा ‘आवरण’मार्फत अभिनय यात्राको सुरुआत गर्नुभएका अभिनेता पन्त प्रायः कलात्मक चलचित्रमा देखिनुहुन्छ । कलात्मकतालाई प्राथमिकता दिनुहुने उहाँले ‘महाजात्रा’ चलचित्रपछि लगातार व्यावसायिक चलचित्रमा काम गरिरहनुभएको छ ।

“अभिनेताले सबै किसिमको चलचित्रमा काम गर्नुपर्छ भन्ने लागेर नै मैले आफूलाई पर्दामा उतारिरहेको गरिरहेको छु । व्यावसायिक होस् वा कलात्मक म आफ्नो पात्रलाई जीवन्त र भिन्न बनाउने कोसिस गरिरहेको हुन्छु । हरेक विधाको चलचित्रमा काम गर्दा यसले मेरो अभियान यात्रामा अनुभव थप्छ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

अभिनेता पन्त केही समय विश्राम गरेर आगामी चलचित्रमा काम गर्ने योजनामा हुनुहुन्छ । लगातार काम गर्दा त्यसको प्रभाव समीक्षा गर्न नपाउने भएकाले उहाँले विश्राम लिने योजना बनाएको बताउनुभयो ।

“आफ्नै कामको मूल्याङ्कन गर्न जरुरी छ, त्यसकारण केही समय विश्राम गरेर त्यसलाई समीक्षा गर्नेछु । म बेलाबखतमा रङ्गमञ्चमा पनि प्रस्तुत हुन्छु, किनकि त्यहाँ आफ्नो अभिनयलाई मापन गर्न सकिन्छ”, अभिनेता पन्तले भन्नुभयो ।

‘पिताम्बर’ धेरै कलाकार हुनुको कारण

चलचित्र ‘पिताम्बर’ आजदेखि प्रदर्शन भएको छ । नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन भएको चलचित्रमा कलाकारको भीडभाड नै देखिएको छ । अभिनेता सौगात मल्ल, दयाहाङ राई, प्रदीप खड्का, अनुपविक्रम शाही, आर्यन सिग्देल, दिव्यदेव पन्त, प्रमोद अग्रहरि, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुरक्षा पन्त, गौरव विष्टलगायत कलाकारले चलचित्रमा अभिनय गर्नुभएको छ ।

उल्लेखित कलाकारहरू कथाको मागका कारण राखिएको निर्देशक कृषा चौलागाईँले जानकारी दिनुभयो । उहाँले चलचित्र हेरिरहँदा दर्शकले हरेक कलाकारलाई कथासँग जोडिएर प्रस्तुत गरेको अनुभूति गर्ने बताउनुभयो ।

“हामीले दर्शकलाई एउटा स्तरीय चलचित्र दिने कोसिस गरेका छौँ । कलाकारको भीडभाड देखिए पनि कथाअनुसार सबै आवश्यक छ । यो चलचित्रपछि अन्य निर्मातालाई पनि यी कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने आँट आउनेछ”, निर्देशक चौलागाईँले भन्नुभयो । उहाँले दर्शकले आफूलाई मन परेको कलाकारलाई पहिलेभन्दा भिन्न तरिकाले चलचित्रमा देख्न पाउने बताउनुभयो ।

अभिनेता प्रदीप खड्काले चलचित्रका लागि द्वन्द्वको प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको जानकारी दिनुभयो । उहाँले पात्रका लागि शारीरिक तौल घट्बढ्सँगै आवश्यक तयारी गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्देशक, निर्मातासहितको समूहले मलाई सुहाउँदो भूमिका छ र यसको तयारी गर्नुपर्छ भनेपछि मैले आफ्नोतर्फबाट प्रयास गरेको हुँ । यसअगाडि एक सामाजिक विषयसँग सम्बन्धित चलचित्रका लागि तौल घटाएको थिएँ, यसका लागि बढाएर आफूलाई पात्रअनुसार तयार गरेँ । एक महिला निर्देशकले द्वन्द्व प्रधान चलचित्र बनाउँछु भनेपछि म तयार भएको हुँ ।”

उहाँले बिनासम्झौता चलचित्र तयार भएको भन्दै सामाजिक विषयलाई द्वन्द्व विधामा प्रस्तुत गरिएको जानकारी दिनुभयो । प्रायः प्रेम कथानक चलचित्रमा अभिनय गर्नुभएका अभिनेता खड्काले पहिलोपटक यस प्रकारको द्वन्द्व विधाका लागि आफू मा तयार भएर अभिनय गर्नुभएको हो ।

चलचित्र भव्य बनेको अभिनेता दिव्यदेव पन्तको भनाइ छ । उहाँले निर्माण समूहको सोच र लगनशीलता देखेर सम्पूर्ण कलाकारले मेहनत गर्नुभएको बताउनुभयो । “चलचित्रलाई राम्रो बनाउन कुनै सम्झौता गरिएको छैन । यति धेरै कलाकार र बजेटमा एउटा महिला निर्देशकले द्वन्द्व प्रधान चलचित्र तयार गर्नुभएको कुराले अन्य चलचित्रकर्मीलाई पनि उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो ।

सो चलचित्रमा रवीन्द्र झा, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडीलगायत कलाकारले अभिनय गर्नुभएको छ । विशाल चौलागाईँ निर्माता रहनुभएको उक्त चलचित्रमा पुरुषोत्तम प्रधानले छायाङ्कन, निर्देशक प्रदीप भारद्वाज र अभिमन्यु निरवीले पटकथा र संवाद लेखन, शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायाङ्कन, बन्देप्रसादले सम्पादन, आशिष अविरल र बाबुल गिरीले सङ्गीत सृजना, हिमाल केसीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ