04/18/2025, 10:05:10

भारतीय कृषिमन्त्री नेपालमा, कृषिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर


काठमाडौँ, २८ चैतः भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषिमन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल भ्रमणमा आउनुभएको छ ।

काठमाडौँमा आज आयोजित बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक (तेस्रो बिएएमएम)मा सहभागिता जनाउन उहाँ यही मङ्गलबार यहाँ आउनुभएको हो ।

भ्रमणका क्रममा आज भारतीय मन्त्री चौहानले आफ्ना समकक्षी नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग द्विपक्षीय बैठक गर्नुभयो । उहाँले तेस्रो बिएएमएमको बैठक सफलतापूर्वक आयोजना गरेकामा आफ्ना समकक्षीलाई बधाई दिनुभएको थियो । दुवै मन्त्रीहरूले कृषि क्षेत्रमा गरिएका विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्दै थप सहकार्यका लागि हुन सक्ने अवसरहरूबारे छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।

कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा दुवै मन्त्रीहरूले आज हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौताले दुई देशबीच कृषि विज्ञान तथा प्रविधि, कृषि उत्पादन, बाली उत्पादन, कृषि व्यापार तथा बजारीकरण, बिरुवा संरक्षण र बजार पहुँच, बागवानी, एकीकृत कृषि प्रणाली, लघु सिँचाइ, प्राकृतिक स्रोत व्यवस्थापन, जैविक खेती, जैविक मल र जैविक विषादी, पोष्टहार्भेष्टको व्यवस्थापन, जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यस सम्झौताले २०४८ साल मङ्सिर २० गते कृषि सहयोगका लागि दुई देशबीच हस्ताक्षर गरिएको समझदारीपत्रलाई प्रतिस्थापन गरेको छ ।

यसैगरी, भारतीय मन्त्रीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँले भारतको नेतृत्वका तर्फबाट अभिवादन व्यक्त गर्दै भारत र नेपालबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो ।

त्यस अवसरमा उहाँहरूबीच कृषिका विभिन्न क्षेत्रहरूमा नेपाल—भारत सहयोगलाई थप सुदृढ पार्ने तरिकाहरूबारे पनि छलफल भएको जनाइएको छ ।

क्षेत्रीय कृषि सहयोगलाई आकार दिन सर्वोच्च निर्णय लिने निकायका रूपमा रहेको बिएएमएमको यो तेस्रो बैठक हो । बिएएमएमको पहिलो बैठक २०७६ साल असार २७ गते म्यान्मारमा भएको थियो र त्यसपछिको दोस्रो बैठक २०७९ साल कात्तिक २४ गते भारतमा भएको थियो । तेस्रो बिएएमएम बैठक काठमाडौँमा भएको हो । बैठकमा मत्स्यपालन र पशुपन्छी सहयोगसहित बिम्स्टेक कृषि क्षेत्रमा थप गति प्रदान गर्ने तरिका र माध्यमहरूबारे छलफल भएको छ ।

विगत एक दशकमा बङ्गालको खाडी क्षेत्रमा क्षेत्रीय विकास, सम्पर्क सञ्जाल र आर्थिक समुन्नतिलाई प्रवर्द्धन गर्न बिम्स्टेक एक महत्वपूर्ण मञ्चका रूपमा उदय भएको छ । ‘कृषि र खाद्य सुरक्षा’ बिम्स्टेक सहयोगका मुख्य क्षेत्र मध्यको एक हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ