04/17/2025, 08:35:13

रासस मेरो गुरुः भैरव रिसाल


काठमाडौँ, २६ चैतः राससमा मेरो जागिरको यात्रा २०२० भदौ २० गतेदेखि सुरु भएको हो । ‘हालखबर’ दैनिक बन्द भएपछि म काम खोज्दै जाँदा २०१६ सालमा सगरमाथा संवाद समिति (ससस)मा पुगेँ । त्यस बेला नेपालमा जम्मा दुई समाचार समाचार समिति थिए, ससस र नेसस । सससका सञ्चालकमा शङ्करनाथ पन्त र पशुपतिदेव पाण्डेहरू थिए भने नेसस सञ्चालक समितिमा गोविन्द वियोगीहरू थिए । सससको कार्यालय आदित्यध्वज जोशीको घर, खिचापोखरीमा थियो । त्यहाँ मैले केही समय काम गरँें । सो कार्यालयको अवस्था पनि तन्नम थियो । आर्थिक रूपले जर्जर भएको पत्रिकालाई चन्दा खोजेरै भए पनि बचाएको मेरो जीवनमा उदाहरण छ । समाचार सङ्कलनमा होस् वा पैसा सङ्कलनमा, खोज्नुपर्ने काम आएपछि म एकदम मेहनत गर्थें । सससमा मेरो कार्यकाल छोटो रह्यो ।

यता मेरो घरको आर्थिक अवस्था निकै कमजोर थियो । केन्द्रीय तथ्याङ्क विभागले २०१८ सालमा गरेको राष्ट्रिय जनगणनामा नेपालको सुदूरपश्चिम क्षेत्रमा र २०१९ सालमा कृषि गणनामा इलाममा मैले २६ महिना अस्थायी ‘सेक्सन अफिसर’ भएर काम गरेँ । त्यसपछि फेरि म बेरोजगार नै बनेँ । त्यसै बेला रासस (त्यतिबेला राष्ट्रिय संवाद समिति) मा केही मतभेद भएछ र केदारमान सिंहलगायत केही व्यक्ति राजीनामा दिएर बाहिरिएछन् । ती रिक्त पदपूर्ति गर्न भनेर सूचना प्रकाशन भयो । मैले पनि आकर्षक विज्ञापन देखेर दरखास्त दिएँ । लिखित जाँच भयो जसमा अङ्ग्रेजीको नेपाली र नेपालीको अङ्ग्रेजीमा अनुवाद गर्नुपर्ने पनि मूल विषय थियो । अङ्ग्रेजी नपढेको मेरा लागि त्यो परीक्षामा भाग लिनु नै ठूलो कुरा थियो । जे हुनु थियो, भयो । म अनुत्तीर्ण भएँ । यसरी राससमा जागिर खाने अवसर गुम्यो ।

केही समयपछि संवाददाताको नियुक्ति पाएका एक व्यक्तिले पत्रिकारिता मन नपरेर प्रशासनिक जागिर खाने उद्देश्यले रासस छाडेछन् । अब एउटा पद रिक्त हुन आयो । त्यसमा फेरि विज्ञापन गरी परीक्षा लिएर नियुक्ति दिने समय सायद रहेन । दरबारका प्रमुख संवाद सचिव रेणुलाल सिंहले मलाई दरबारमा बोलाए र राससमा काम गर्ने हो भनी प्रश्न गरे । उनी राजाको सुदूरपश्चिम क्षेत्रको भ्रमणका क्रममा मेरो काम देखेर सायद प्रभावित भएका थिए । मलाई अङ्ग्रेजी नआउने तर संस्कृत पढेकाले समाचार सङ्कलन गर्ने तथा प्रुफसमेत हेर्नुपर्ने गरी जिम्मेवारी तोकेर २०२० भदौम रासस संवाददातामा तीन महिना परीक्षणकाल रहने गरी नियुक्त गरियो । तलब थियो रु २२५, ओहो ! धेरै पैसाको जागिर ! त्यो पनि स्थायी पाएकाले मेरो त खुसीको सिमाना नै रहेन । घरपरिवार पनि खुसी हुनु स्वाभाविक हो । जागिर सुरु गरिएको चार वर्षमा म प्रमुख समाचारदाता भएँँ ।

रासस सञ्चालक समितिका अध्यक्ष राजाका संवाद सचिव रहने गर्थे । त्यस बेला राससको कार्यालय नयाँ सडकमा पुरानो अमेरिकी पुस्तकालयको पछाडिको घरमा थियो भने केहीपछि लगनमा स¥यो । महाप्रबन्धकमा त्यस बेला गोकुलप्रसाद पोखरेल थिए, पछि गोविन्दप्रसाद प्रधान भए । डा हर्क गुरुङ पनि राससका खेलकुद संवाददाता थिए । म बढीभन्दा बढी समाचार सङ्कलन गरेर ल्याउँथँे । पञ्चायती व्यवस्था अत्यन्तै अनुदार थियो । उसका कर्मचारीबाट समाचार फुत्काउन निकै गाह्रो थियो । मन्त्री त झन् राजाका बफादार मान्छे, उनीहरूले पनि समाचार दिँदैनथे । व्यवस्थालाई सजिलो पर्ने र प्रचार गर्नुपर्ने खालका समाचार मात्र पाउन सकिन्थ्यो ।

मेरो सम्बन्ध सिंहदरबारमा राम्रो भएकाले समाचार लिनका लागि अरूका तुलनामा सजिलो थियो । कोही नयाँ कर्मचारी वा सचिव आयो कि म गएर भेटिहाल्थँे । उनीहरूले रासस भनेपछि भेट पनि दिन्थे र माया पनि गर्थे । यसले गर्दा मलाई समाचारको स्रोतको विकास गर्नका लागि निकै ठूलो सघाउ पु¥याएको थियो ।

राससमा एउटा के प्रावधान थियो भने सबैभन्दा बढी समाचार स¬ङ्कलन गर्नेलाई प्रत्येक तीन महिनामा रु १०० पुरस्कार दिने । त्यो पुरस्कार तीन वर्ष जति दिइयो, सबै मैले नै पाएँ । समाचार कति वटा भन्ने त हुँदैनथ्यो तर पनि दिनमा कम्तीमा तीनचार हुन्थ्यो । हरेक दिन एउटा समाचार भने लेख्नैपथ्र्यो, नत्र समाचारदातालाई अरू शाखाका कर्मचारी एवं सम्पादकले सिंत्तैमा तलब खायो भनेर कुरा काट्थे । त्यो अवस्था चाहिँ लाजमर्दो नै हुन्थ्यो । तर दिनमा एउटा खबर खोज्न भने निकै गाह्रो थियो ।

त्यसबेला पत्रकारले सीमित सञ्चार माध्यमबाट काम गर्नुपथ्र्यो । सबैभन्दा सुविधायुक्त साधन भनेको बल्लबल्ल पाइने टेलिफोन हो, त्यही पनि सबै ठाउँमा हुँदैनथ्यो । उति बेला जिल्लाका समाचार लिनका लागि निकै गाह्रो थियो, सबै ठाउँमा टेलिफोन थिएन । निकै थोरै मात्र समाचार आवाबाट टिपिन्थ्यो । त्यसमा ३०० अक्षरभन्दा बढी टिप्न मिल्दैनथ्यो । त्यसैले धेरैजसो समाचार हुलाकबाटै आउँथे । मैले केही महिना कार्यालयका तर्फबाट पाएको ९० सिसीको मोटरसाइकलसम्म चढेको थिएँ । पछि चढ्न पनि छाडिदिएँ । प्रायः म खुट्टाले हिँडेरै सबैतिरको कार्यक्रम भ्याउँथेँ ।

राससमा मेरो काम समाचार लेख्ने मात्र थिएन । सरकारले राससलाई पर्याप्त बजेट दिँदैनथ्यो । बजेट आएको भोलिपल्टदेखि मैले सिंहदरबारका सचिव एवं अर्थमन्त्रीकहाँ धाएर उनीहरूसँग बजेटका लागि कराउनुपथ्र्याे । म अर्थमन्त्रीहरू डा भेषबहादुर थापा, डा यादवप्रसाद पन्तकहाँ गएर “लौ न, हामीले तलब नखाने मन्त्रीज्यू” भन्थेँ । अनि पछि बजेट थपिन्थ्यो पनि । सरकारले हरेक वर्ष ल्याउने बजेट घोषणा हुँदा राससलाई थोरै नै विनियोजन गरिएको हुन्थ्यो । बजेट घोषणा भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेर त्यसका बारेमा जानकारी गराइन्थ्योे । त्यस पत्रकार सम्मेलनमा म नै जाने गर्थें र मेरो एउटा प्रश्न हुन्थ्यो, राससलाई छुट्याइएको बजेट निकै अपुग छ भन्ने । रासस केन्द्रीय कार्यालय रहेको जग्गा र भवन बनाउनका लागि बजेट ल्याउन निकै मेहनत गरियो । मैले राससका विभिन्न स्थानका जग्गा मिलाउने काममा पनि धेरै सङ्घर्ष गरेको छु र मिलाएको पनि छु । त्यसैले मैले यसबाट लिएको मात्र छैन, केही दिएर पनि आएको छु जस्तो लाग्छ ।

एक पटक मैले बजेट फलानो मितिमा आउँदैछ भन्ने समाचार दिएको थिएँ । त्यस समाचारले निकै हल्लीखल्ली भएछ । मलाई कारबाही गर्नुपर्छ भन्ने कुरा पनि उठेछ तर पछि केही भएन । बजेटको अङ्क नदिए पनि यति मितिमा आउँछ भनेर भन्न पनि असजिलो अवस्था थियो ।

राससमा झन्डै पौने २२ वर्ष जागिरका क्रममा राजासँगको भ्रमणमा २०३२ सालतिर युगोस्लाभिया, इरान, जोर्डन र भारतको भ्रमण गर्ने मौका मिलेको थियो । पछि चीन, रुस पनि भ्रमण गरियो । समाचार सङ्कलनका सिलसिलामा मैले स्वदेशका धेरै जिल्लाको भ्रमण गरेको छु । राजा वा प्रधानमन्त्रीको जिल्ला भ्रमण भए पनि समाचारका लागि केन्द्रबाटै समाचारदाता जान्थे र त्यसमा धेरैजसो म नै जानुपथ्र्याे । राससको इज्जत ठूलो थियो । कतिपय ठाउँमा त समाचारदाताहरूलाई मञ्चमा अतिथिको आसन गराएर भाषण नै गर्न लगाउँथे । कुनै पनि कार्यक्रममा रासस नपुगेसम्म अहिले टेलिभिजनलाई कुरेजस्तो गरी कार्यक्रम नै सुरु गर्दैनथे ।

एक पटक संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्त नेपाल आउँदा त्यससम्बन्धी समाचार लेख्नेमा म परेँ । उनले भनेको अङ्गे्रजीलाई मैले पनि देवनागरीमा लेखेर ल्याएँ र कार्यालयमा आएर बनाइयो । आफूले नबुझेको समाचार नदिने भएकाले धेरै समस्या भने पर्दैनथ्यो । नेपालका प्रधानमन्त्री कीर्तिनिधि विष्ट चीनबाट फर्केर आएको समाचारका लागि म गएको थिएँ । पत्रकारको एक प्रश्नका जवाफमा उहाँले माओत्से तुङ नेपाल आउन चाहनुभएको छ ‘इफ पर्मिट द हेल्थ’ भन्नुभएको रहेछ । तर मैले भने पछिको अङ्ग्रेजी बुझिन र माओ नेपाल आउने भनेर समाचार दिएँ । विष्ट रेडियो नेपाल खुब सुन्नुहुन्थ्यो । दिउँसो समाचार सुनेपछि मलाई फोन गर्नुभयो र भन्नुभयो, “ए भैरव बाबु, मैले त स्वास्थ्यले साथ दियो भने मात्र आउन चाहनुभएको छ भनेको थिएँ नि त ।” त्यसमा खासै धेरै आपत्ति नजनाएकाले त्यति समस्या भने परेन । पछि उहाँले मलाई अङ्ग्रेजी जान्दैन भन्ने थाहा पाएकाले नेपालीमै सबै कुरा भन्दिनुहुन्थ्यो । भारतका राष्ट्रपति डा सर्वपल्ली राधाकृष्ण, प्रधानमन्त्री मोरारजी देसाई नेपाल आउँदा उहाँहरूको समाचारका लागि मैले निकै दुःख पाएको छु ।

अर्को एउटा विषय पनि रमाइलै छ । सञ्चार सचिव रामबहादुर रावल भएका बेला बजारमा चिनी, मट्टितेल, नुनको हाहाकार थियो । सचिव रावलले मलाई बोलाएर “यस्तो समस्या छैन” भनेर समाचार दिन भन्नुभयो तर मैले “तपाइँलाई ‘कोट’ गरेर दिन्छु नि त” भन्दा उहाँ रिसाउनुभयो ।

समाचारदातामा नियुक्त भएको चार वर्षपछि म प्रमुख समाचारदाता भएँ । अब मलाई फसाद प¥यो । एक त अङ्ग्रेजी नजान्ने मान्छे, त्यसैमा पनि झन् ठूला एवं प्रमुख समाचारहरूमा जानुपर्ने भयो । विदेशीहरूका सहभागितामा हुने कार्यक्रमको समाचार लेख्नका लागि म जानुपर्ने तर अङ्गे्रजी नआएकाले मैले देवनागरी लिपिमा ल्याउने र कार्यालयमा आएर नेपाली बनाउने जस्तो काम पनि गरेँ ।

उस बेला दरबारको समाचारले निकै प्राथमिकता पाउँथ्यो । त्यहाँको समाचार लिनका लागि महाप्रबन्धक नै जान्थे । दरबारको समाचार बिग्रिएमा सम्पादक वा समाचारदाता कसैको पनि जागिर धरापमा पर्ने अवस्था थियो । राजाका विभिन्न समयमा हुने जिल्ला भ्रमणको समाचारका लागि प्रायः म नै जान्थेँ । यसै क्रममा राजा वीरेन्द्रले मलाई मन पराएछन् र २०३२ सालतिरको युगोस्लाभियाको भ्रमणमा मेरो नाम सिफारिस गरेछन् । धेरैले मलाई बधाई दिए पनि मेरा मनमा खुसी भने थिएन । स्वदेशमै अङ्ग्रेजी नजानेर कतिपय समाचार सङ्कलनमा दुःख पाइरहेको मलाई विदेशबाट समाचार कसरी पठाउने भन्ने समस्याले निकै ठूलो पिर थियो । त्यो राससका अन्य साथीलाई त थाहा थियो । तर अरूलाई के थाहा ? म त मेरो नाम त्यो विदेश भ्रमणबाट काट्न लगाउने पक्षमा थिएँ । तर पनि पछि थाहा भयो ‘द राइजिङ नेपाल’ का सम्पादक पनि सो भ्रमणमा रहने भएकाले म उनको सहयोग पाउने आसले गएँ । भनेजस्तै नै भयो । उनका सहयोगले मैले पनि राम्रैसँग समाचार पठाउन सकेँ ।

मलाई रासस साँघुरो भयो । मैले सेवा अवधि बाँकी रहँदै राजीनामा दिएँ । रासस छाडेपछि देवेन्द्रराज पाण्डे अध्यक्ष भएको आइडिएस नामक संस्थामा गएँ । त्यस संस्थाबाट गाउँमा कृषिको क्षेत्रमा काम गरेँ । म पण्डितको छोरो, सुरुमा कुशको काम गरेँ, पछि कलमको काम गरेँ र त्यसपछि कोदालीको काम गरेँ । अहिले ती दिनहरु सम्झँदा निकै आनन्द लाग्छ । जे होस् रासस मेरो गुरु संस्था हो । मेरो परिचय यहीँबाट भएको छ । देशको एक मात्र समाचार समितिका रूपमा रहेको राससमा रहेर काम गर्दा त्यसले दिएको पहुँच र पहिचान नै मेरा लागि तथा राससमा लामो समयसम्म रहेर काम गर्नेहरूका लागि पनि निकै नै ठूलो सम्पत्ति हो ।

(वरिष्ठ पत्रकार एवं राससका पूर्वप्रमुख समाचारदाता रिसालको यही चैत २४ गते ९७ वर्षको उमेरमा निधन भएको दुःखद घटनाबीच ‘रासस अनुभव र अनुभूति पुस्तक’बाट साभार गरिएको)


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ