धुलिखेल, १९ चैतः काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने सडकखण्ड पाँच वर्षसम्म पनि सम्पन्न भएको छैन । आठ दशमलव सात किलोमिटर ट्र्याक खोलेर सडक कालोपत्रका लागि विसं २०७७ असोज २० मा शिलान्यास गरिएको थियो । बागमती प्रदेश सरकारको सहयोगमा सडक निर्माण सुरु भएको थियो ।
सडक निर्माणले निरन्तरता नपाउने र काम गरेका मजदुरको ज्यालासमेत भुक्तानी नगरेपछि कामले गति लिनसकेको छैन । स्थानीय लीलाध्वज ग्लानले ठेकेदार नियमित नआउने, कामदारले काम गरेको पैसा नपाएका कारण पाँच वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको बताउनुभयो । पछिल्लो दुई महिनादेखि काम ठप्प रहेको उहाँले बताउनुभयो ।
स्थानीय टेकबहादुर घिसिङले सडक पक्की हुने भन्दै उत्साहित नागरिक अचेल निरास भएको गुनासो गर्नुभयो । ‘ठेकेदारले सडक छेउ भित्ता खनेर त्यसै छोडेका छन् । समयमा काम सम्पन्न नगर्दा सडकको प्रयोग गर्न त पाइएको छैन नै, बर्खामा बाढीले घरबारी बगाउने र कतै पहिरो जान्छ कि भन्ने डरले रातभरि जागै बस्नुपर्ने अवस्था रहेको छ”, उहाँले भन्नुभयो । स्थानीय बासिन्दा कर्णबहादुर थिङले दुई वर्षभित्रमा कालोपत्र गर्ने भनिएको सडक पाँच वर्ष बितिसक्दा पनि सम्पन्न नभएकाले हिलो धुलोले थप पीडा भएको बताउनुभयो ।
महाभारत गाउँपालिका—६ का वडाध्यक्ष रमेश लुङ्गेली मगरले पछिल्लो समयमा ट्र्याक खोलेर तारजाली पर्खाल लगाउने काम भए पनि बर्खामा सबै बगाएपछि समस्यामा भएको जानकारी दिनुभयो । काम गर्ने भनेर थुपारेका सामान पनि अलपत्र अवस्थामा रहेका उहाँले बताउनुभयो । “ट्र्याक खोलेर त्यसको उचित व्यवस्थापन नगर्दा आवतजावतमा मात्रै नभएर भित्ता भत्किने, बर्खामा हिलो र हिउँदमा धुलो हुने समस्याले सबै हैरान छौँ । पहिरोको जोखिमले छेउछाउका परिवार निकै त्रासमा छन्”, वडाध्इक्ष लुङ्गेली मगरले भन्नुभयो ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिका केन्द्र जोड्ने पहिलो बहुवर्षीय योजनाअन्तर्गत करिब रु ४९ करोड लागतमा कालोपत्रसहितको सो योजना सुरु गरेदेखि पटकपटक म्याद थपिए पनि काम सम्पन्न नभएको बताउनुभयो । सजिलो स्थानतिर करिब डेढ किलोमिटर जति कालोपत्र गरे पनि अप्ठ्यारो भागमा काम हुन नसक्दा थप समस्या भएको उहाँको भनाइ छ । यस विषयलाई लिएर प्रदेशका मुख्यमन्त्रीदेखि भौतिक पूर्वाधार विकासमन्त्री, अर्थमन्त्री र मन्त्रालयका सचिवलाई स्थलगत निरीक्षण गराएर पटकपटक ध्यानाकर्षण गराउँदा पनि काम अगाडि नबढेको अध्यक्ष जिम्बाले गुनासो गर्नुभयो ।
पछिल्लो पटक थपेको समयसीमा पनि आगामी वैशाखसम्म मात्रै रहे पनि समयमा काम सम्पन्न हुने अवस्था नदेखिएको अध्यक्ष जिम्बाले बताउनुभयो । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख राजु श्रेष्ठले अब चाँडै काम सुरु हुने बताउनुभयो । ठेकेदारलाई तोकिएको समयमै काम सक्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । हालसम्म समग्रमा ६० प्रतिशत र करिब दुई किलोमिटर सडक कालोपत्र भइसकेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले सम्बन्धित मन्त्रालयका मन्त्री र कर्मचारीले स्थलगत अनुगमन गरिसकेको र मन्त्रालयमा नै बसेर धेरैपटक उक्त सडकका विषयमा छलफल गरेर ताकेता गरिएको बताउनुभयो । यतिगर्दा पनि काम नहुनुमा ठेकेदारको चरम लापर्र्बाही रहेको उहाँको भनाइ छ । बाटो नबन्दा नुन तेलदेखि सबैजसो सामान बनेपाबाट बोकेर लानुपर्ने बाध्यता रहेको भन्दै ढकालले छिटो काम गर्न ठेकेदार र सरोकार भएकाहरूलाई आग्रह गर्नुभयो ।
निर्माण कम्पनी श्रेष्ठ/साक्ष्मक जेभीसँग विसं २०७७ असार ३० मा रु २५ करोड ८२ लाख दश हजार ३१६ मा ठेक्का सम्झौता भई विसं २०७९ असार ३० गतेभित्रमा सम्मन्न गर्ने समयसीमा तोकिएको थियो । त्यसपछि दुई पटक म्याद थप भइसकेको छ ।