मङ्गलबार, पुष ०९, २०८१

वायनाड पहिरो पीडितलाई प्रभासले गरे २ करोड भारु रुपैयाँ सहयोग


२४ साउन, काठमाडौं । भारतको केरला राज्यमा बाढीपहिरोका पीडितलाई सहयोग गर्न दक्षिण भारतीय स्टारहरू एक पछि अर्को गर्दै अगाडि आइरहेका छन् । यो सूचीमा दक्षिण भारतीय अभिनेता प्रभास पनि थपिएका छन् । वायनाडमा पहिरोबाट प्रभावितहरूलाई मद्दत गर्न अभिनेता प्रभासले केरलाको मुख्यमन्त्री राहत कोषमा २ करोड भारु रुपैयाँ सहयोग गरेका छन् ।

३० जुलाईमा पञ्जिरिमट्टम, मुण्डक्काई, चुरलमलालगायतका गाउँमा पहिरोमा परी ४ सयभन्दा बढीले ज्यान गुमाएका थिए भने १५० भन्दा बढी अझै बेपत्ता छन् । अभिनेताको एक फ्यान क्लब माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टर शेयर गरेको छ । यसको क्याप्शनमा ‘प्रभासले वायनाडका पहिरो पीडितको सहयोगार्थ केरलाको सीएम राहत कोषमा २ करोड भारु रुपैयाँ दिए । सुनको मुटु भएको व्यक्ति,’ भनेर लेखिएको छ ।

प्रभावित क्षेत्रमा एक साताभन्दा बढी समयदेखि खोजी कार्य जारी छ । माटोमुनि अझै धेरै मानिस पुरिएको हुन सक्ने बताइएको छ । कृषि विभागको प्रतिवेदनअनुसार चुरामाला, अट्टमला, मुण्डक्काइ लगायत धेरै क्षेत्रमा ३१० हेक्टर खेतीयोग्य जमिन नष्ट भएको छ ।

पहिरो प्रभावित मानिसहरूलाई मद्दत गर्न केरला मुख्यमन्त्री राहत कोषमा स्थापना गरिएको थियो । सो राहत कोषमा फिल्मी सेलिब्रेटीदेखि उद्योगपतिसम्मले पैसा दान गरिरहेका छन् । प्रभासभन्दा पहिले चिरञ्जीवी र उनका छोरा रामचरणले सो कोषमा १ करोड भारु रुपैयाँ सहयोग गरेका थिए । अल्लु अर्जुनले र रश्मिका मन्डन्नाले पनि सो कोशमा क्रमशः ५० लाख र १० लाख भारु दिएका थिए ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading