काठमाडौँ, १४ चैत्रः पुराना पञ्चहरूलाई पन्छाउँदै व्यवसायी दुर्गा प्रसाईंले राजावादी आन्दोलनको नेतृत्व पाएका छन् । पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राजसंस्था फर्काउन राजनीति गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रसाईंको नेतृत्वलाई स्वीकार्दै उनले आह्वान गरेको आन्दोलनमा होमिएका छन् ।
प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । गठनसँगै उक्त समिति विवादमा तानिएको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफू उक्त समितिमा नरहेको जनाएका थिए । राप्रपाको कार्यसम्पादन समितिको बैठकले राप्रपा आफैंले आन्दोलन गर्ने कुनै व्यक्ति विशेषको नेतृत्वमा पार्टीलाई नलैजाने निर्णय लिएको थियो ।
सुवेदी नेतृत्वको समिति गठन हुनुपूर्व नै प्रसाईंले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । राजावादीहरूको साझा नेता बन्ने प्रयास गरेका सुवेदीले प्रसाईं एक्लैको निर्णयबाट घोषणा गरिएको आन्दोलनको स्वामित्व मात्रै लिएको छैन कि प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका छन् । सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनआन्दोलन समिति गठन गर्नुपूर्व नै चैत १५ गतेदेखि सुरू हुने गरी घोषणा रिएको आन्दोलनलाई समितिले अपनत्व लिएको छ ।’ उनले चैत्र १७ गतेबाट समितिका तर्फबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताएका छन् ।
त्यस्तै, राप्रपाले पनि प्रसाईंले आह्वान गरेको आन्दोलनमा सहभागी हुने जनाएर उनको नेतृत्वलाई स्विकारेको छ । प्रसाईंले सार्वजनिक मञ्चहरूबाटै राप्रपा र तिनका नेताहरूको आलोचना गर्दै आएका छन् । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आन्दोलनमा सक्रिय सहभागीताका लागि कार्यकर्ता पंक्तिलाई आह्वान गरेका छन् । राप्रपा समान विचार र उद्देश्य भएका सबैसँग सहकार्य, कार्यगत एकता र मोर्चा बनाएर आन्दोलनको मोर्चामा उभिन प्रतिबद्ध रहेको भनेका छन् ।
राप्रपा आफैंले राजसंस्था र हिन्दू राष्ट्र स्थापनाका लागि चैत्र २६ गते उपत्यकामा सभा गर्ने र वैशाख ७ गतेबाट काठमाडौंकेन्द्रित आन्दोलन गर्ने घोषणा गरिसकेको छ । शुक्रबारलाई तीनकुनेमा सभा गर्न काठमाडौं प्रशासनले भनेको छ ।