२२ साउन, काठमाडौं । नेपाली कांग्रेसले मन्त्री र जनप्रतिनिधिहरूको कार्यसम्पादन सम्बन्धी निर्देशका बनाउने भएको छ । कांग्रेसका मन्त्री र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पार्टीसँग समन्वय नगरेको गुनासो बढेपछि निर्देशिका ल्याउन लागिएको हो ।
प्रदेश, संघमा मन्त्री बनेका र स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूको पार्टीसँग समन्वय गर्नका लागि निर्देशिका बनाउन लागिएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । ‘संघ, प्रदेशमा मन्त्री बन्ने, स्थानीय तहमा कांग्रेसबाट जित्ने तर पार्टीलाई रिपोर्टिङ नगर्ने प्रवृत्ति छ,’ ती पदाधिकारीले भने, ‘घोषणापत्र एकातिर मन्त्री र स्थानीय तहका जनप्रतिनिधिको काम अर्कोतिर भएको छ ।’
मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले सुधारको कार्य गरे आफ्नो कारणले भएको भन्दै जस लिने प्रवृत्ति रहेको कांग्रेस नेताहरू बताउँछन् । तर, गलत कार्य गरे अपजसको भागिदार पार्टी हुनुपर्ने भएकाले त्यस्तो अवस्थाका अन्त्य गर्नका लागि निर्देशिका ल्याउन लागिएको शीर्ष तहका नेताले बताए ।
सोमबार बसेको शीर्ष तहका नेताको बैठकमा निर्देशिका बनाउने विषयले प्रवेश पाएको थियो । बुधबारबाट बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्देशिका पेश गर्ने भएका छन् ।
पार्टीका एक पदाधिकारी भन्छन्, ‘संघ र प्रदेशका मन्त्रीले गर्ने कामलाई थप व्यवस्थित बनाउने, जनमुखी बनाउन लगाउने, पार्टीप्रति बढी उत्तरदायी गराउने, स्थानीय तहका जनप्रतिनिधिले पार्टीसँग समन्वय गर्ने गरी निर्देशिका आउँछ ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















