मङ्गलबार, फागुन १३, २०८१

प्रतिनिधि सभा


धार्मिक पर्यटनमा जोड दिन सांसदको आग्रह काठमाडौँ, १३ फागुनः

सांसद वासुदेव घिमिरेले धार्मिक पर्यटनको प्रवर्द्धनले मुलुकको आर्थिक वृद्धिमा टेवा पु¥याउने भएकाले राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो छ ।
आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “नेपालको लुम्बिनी, मुक्तिनाथ, पाथीभरा, पशुपतिनाथ, मनकामनालगायत थुप्रै ठाउँ पर्यटकलाई देखाएर धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । यसका लागि भौतिक पूर्वाधारको विकास आवश्यक छ ।” सांसद मङ्गलप्रसाद गुप्ताले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका–१२ मा बाढीको जोखिम रहेकाले यथाशिघ्र तटबन्धन निर्माण गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “चहरनावा खोलामा बाढी आयो भने उक्त पालिकाका ४ वटा गाउँसमेत बगाएर लानेछ । वर्षाभन्दा अघि तटबन्धन निर्माण गरिनुपर्छ, नभए ठूलो जनधनको क्षति हुन्छ ।” सांसद सीताकुमारी रानाले सडक दुर्घटना बढ्दै गइरहेकाले रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । “ट्राफिक नियमनको उल्लङ्घन, सडकका खाल्डाखुल्डी, जथाभावी बाटो काट्ने प्रवृत्तिले सडक दुर्घटना बढिरहेको छ । यी समस्या समाधानका लागि प्रभावकारी नीति र त्यसको प्रभावकारी कार्यान्वयनको आवश्यकता छ ।”

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रस्तुत
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई वटा विधेयक प्रस्तुत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्नुभयो । लामो समयदेखि प्राधिकरण टुक्र्याउने विषयमा छलफल भएपनि विधेयक अगाडि बढ्न सकेको थिएन । नेपालको हवाई क्षेत्रमा देखिएको समस्या मसाधान गर्ने र अन्तरराष्ट्रिय निकायले राख्दै आएको कालोसूची हटाउनेलगायतका विषयसमेतमा सो विधेयकको आवश्यकता महशुस गरिँदै आएको थियो ।

सल्यानमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पु¥याउन सांसद नेपालीको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले सल्यानमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पु¥याउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद नेपालीले अझै पनि सल्यानमा टुकी र दियालो बाल्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल आज पूरै ‘लोडसेडिङमुक्त’ छ भनेर भन्दै गर्दा सल्यान बत्तीमुनिको अँध्यारो भएको छ । सल्यानका अधिकांश बस्तीमा आज पनि राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन ।”
सांसद नेपालीले राप्ती राजमार्गको स्तरोन्नति नहुँदा जनता ज्यानको बाजी राखेर कष्टपूर्ण यात्रा गर्न बाध्य रहेको बताउनुभयो । उहाँले राजनीतिक प्रतिशोधमा सल्यानलाई अलपत्र पारेको गुनासो गर्दै राप्ती राजमार्गको स्तरोन्नति गरेर कालोपत्र गर्न सरकारसँग माग गर्नुभयो । सल्यानको कपुरकोटमा किसानले वार्षिक करोडौँ रुपैयाँको हरियो तरकारी उत्पादन गरे पनि हालसम्म उक्त गाउँपालिकामा विषादी परीक्षण गर्ने ‘क्वारेन्टाइन’ मेशिन नभएको सांसद नेपालीले बताउनुभयो । “मेसिनका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको तर उपलब्ध भएको छैन । जनताले विषादीमुक्त तरकारी खान पाउनुपर्छ,” उहाँले भन्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ