शनिबार, फागुन १०, २०८१

रास्वपा सांसद श्रेष्ठले एकैचोटि परिवेश नबुझी दादागिरी गर्न थाल्नुभयो : सभामुख घिमिरे


६ फागुन, काठमाडौं :  भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीबारे संसद्‍मा आफ्ना विषय राख्न पाउँ भनेर समय माग्न आएकी रास्वपा सांसद सुमना श्रेष्ठले आफूसँग दादागिरी देखाएको सभामुख देवराज घिमिरेले आरोप लगाएका छन् ।

विषय बुझेर र परराष्ट्र मन्त्रालयसँग उक्त विषयमा बुझेपछि मात्रै बोल्न समय दिने भन्दा पनि सांसद श्रेष्ठले दादागिरी शैलीमा प्रस्तुत भएको सभामुख घिमिरेको भनाइ थियो । सभामुख घिमिरेले प्रतिनिधिसभाको सोमबारको बैठकमा संसद्मा रास्वपा सांसद श्रेष्ठ अस्वाभाविक रूपमा प्रस्तुत भएको बताए । सभामुख घिमिरेले पछि समय दिन्छु भन्दा पनि सांसद श्रेष्ठले असंसदीय रूपमा प्रस्तुति देखाएको बताए ।

संसद् बैठक सुरु हुने बेला समय माग्न आएकी श्रेष्ठले तत्काल समय चाहियो भनेको र विषयबारे बुझ्न खोज्दा आक्रोशित रूपमा आफूसँग प्रस्तुत भएको घिमिरेले बताए । ‘संसद् सञ्चालनका लागि घण्टी बजिसकेको थियो । म बैठक सञ्चालन गर्न बैठक कक्षमा गइरहेको थिए । सुमना श्रेष्ठ आउनुभयो । उहाँले ‘भारतको केआईआईटीमा नेपाली विद्यार्थी मरेका छन्, अलपत्र परेका छन् यो विषय राख्नैपर्छ’ भन्नुभयो । यस विषयमा मैले बुझेको छैन, परराष्ट्र मन्त्रालयसँग पनि बुझ्नुपर्ला भनेको थिएँ,’  सभामुख घिमिरेले भने,  ‘रास्वपाको तर्फबाट सोमबारको बैठकमा आकस्मिक समयमा बोल्नका लागि अशोक चौधरीलाई समय दिइसकिएको थियो । प्रमुख सचेतक सन्तोष परियारले पनि सुमना श्रेष्ठलाई आकस्मिक समयमा बोल्न दिनुपर्ने खालको विषय हो भन्नुभएको थियो । तर मैले समय दिन सकिँदैन र बैठकमा नउभिन भन्नुस् भनेको थिएँ ।

त्यतिबेला पनि सांसद श्रेष्ठले टेबुल ठटाएको र विषय राम्रोसँग नभनेको सभामुखको भनाइ छ । सांसद श्रेष्ठले आकस्मिक समयमा पनि सभामुखसँग समय मागेकी थिइन् । तर, सभामुखले समय नदिएपछि बाहिर मिडियामा आफ्ना भनाइ राखेकी थिइन् ।

सांसद श्रेष्ठले मिडियामा आफ्ना कुरा राखेकोमा पनि सभामुख घिमिरेले आपत्ति जनाएका छन् । भित्र भन्नका लागि समय नदिएको भनी बाहिर मिडियामा उल्लेख गरेको भनी सभामुखले आपत्ति जनाएका हुन् । ‘उहाँ एकैचोटि परिवेश नबुझी दादागिरी गर्न थाल्नुभयो,’ घिमिरेले भने ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ