६ फागुन, काठमाडौं : विक्की कौशल स्टारर हिन्दी फिल्म ‘छावा’ ले भारतीय बक्सअफिसमा कीर्तिमानी सप्ताहन्त ओपनिङ गरेर हलचल मचाएको छ । छत्रपति संभाजी महाराजको जीवनीमा आधारित फिल्म धेरै ओपनिङ गर्ने सन् २०२५ कै पहिलो बलिउड फिल्म बनेको छ ।
बलिउड विश्लेषक तरण आदर्शका अनुसार फिल्मले प्रदर्शनको चौंथो दिन सोमबारसम्म हिन्दी संस्करणमा १४५.५३ करोड भारु कमाएको छ । शुक्रबार ३३.१० करोड भारु, शनिबार ३९.३० करोड भारु, आइतबार ४९.०३ करोड भारु र सोमबार २४.१० करोड भारु कमायो ।
पहिलो सप्ताहन्तमै १०० करोड क्लबमा प्रवेश गरेर फिल्मले कीर्तिमानी भविष्यलाई जीवित तुल्याएको छ । यो फिल्म अभिनेता कौशलको करिअरमा धेरै ओपनिङ गर्ने फिल्म मात्र बनेन्, पछिल्लो समय सुख्खा देखिएको बलिउडलाई समेत चलायमान तुल्याएको छ । यो कमाइसँगै ‘छावा’ अहिलेसम्म यसवर्ष धेरै कमाइ गर्ने बलिउड फिल्म बनेको छ ।
महाराष्ट्रमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्नुको साथै, फिल्मले उत्तर भारतमा पनि दर्शकको ठूलो भीड जम्मा गरिरहेको छ । हैदराबाद र बैंग्लोरजस्ता सहरमा पनि फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ । बक्सअफिसमा एक्लो फिल्म भएकाले पनि यो फिल्मलाई फाइदा मिलिरहेको छ । सलमान खानको ‘सिकन्दर’ नआउँदासम्म अहिले बलिउडमा ठूला फिल्म छैनन् ।
बलिउड विश्लेषकहरू फिल्मले थप रेकर्ड राख्ने र अन्ततः ब्लकबस्टर बन्ने प्रक्षेपण गरिरहेका छन् । यसवर्ष रिलिज भएको ‘स्काइफोर्स’ले ७३.२० करोड भारु, ‘गेम चेन्जर’ले १९.९५ करोड भारु, ‘देवा’ले १९.४३ करोड भारु, ‘ब्याडएस रविकुमार’ले ७.७७ करोड सप्ताहन्त ब्यापार गरेका थिए ।