आइतबार, फागुन ११, २०८१

आलेख : आहार व्यवस्थापनले गिद्धको सङ्ख्या बढ्दै


रामपुर (पाल्पा), ४ फागुनः गिद्धलाई विश्वमै दुर्लभ पक्षीका रुपमा चिनिन्छ । पहिले यत्रतत्र छरपष्ट देखिने गिद्ध पछिल्लो समय कमै देखिन्छन् । बासस्थानको समस्या, आहारको अभाव, जलवायु परिवर्तन र औषधिको प्रयोगले गिद्धको सङ्ख्या पातलिँदै गएको बेला यहाँ भने ह्वात्तै बढेको छ ।

दुर्लभ पक्षीका रुपमा लिइने गिद्ध लोप हुन नदिन खरैनी सामुदायिक वन समूहले संरक्षण अभियान थालनी गरेपछि गिद्धको सङ्ख्या बाक्लिँदै गएको छ । पाल्पा रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी नदीको तटमा रहेको यस वन क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्र बनाइएको छ । आहार अभावमा ६० को हाराहारीमा गिद्ध रहेको यस वन क्षेत्रमा हाल ३०० बढी गिद्ध छन् । आहार व्यवस्थापन, सुरक्षित बासस्थानको व्यवस्था गरिएपछि गिद्धको सङ्ख्या बढ्दै गएको वन समूहका अध्यक्ष छायाचन्द्र पंगेनीले जानकारी दिनुभयो ।

वन क्षेत्रभित्र मरेका पशुचौपाया यत्रतत्र फाल्न नदिने, आहार व्यवस्थापनका लागि निश्चित ठाउँको व्यवस्था, गाउँघरमा मरेका पशुको उचित व्यवस्थापन गर्दै आहारका रुपमा ल्याउने व्यवस्था गरिएको अध्यक्ष पंगेनी बताउनुुहुन्छ । “पहिला गिद्धलाई आहारा खुवाउने चलन थिएन, आफैँले खोजेर लिने गर्दथे, अहिले वन क्षेत्रमा निश्चित ठाउँ छुट्याएर आहार व्यवस्थापन गरिएको छ, आहार व्यवस्थापन हुन थालेपछि सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

रामपुर नगर गौशालासँग समन्वय गरेर १ वर्षदेखि आहारलाई व्यवस्थित गरिएको अध्यक्ष पंगेनीले जानकारी दिनुभयो । उहाँका अनुसार गौशालामा मरेका गाईहरु वन समूहले रु एक हजार र गौशालाका तर्फबाट रु एक हजार ढुवानी खर्च व्यवस्थापन गरेर आहारका रुपमा ल्याउने कार्य भइरहको छ । रामपुर–८ का जुनसुकै स्थानमा मरेका पशु ल्याउन रु ५०० र अन्य स्थानबाट ल्याउन रु एक हजार ढुवानी शुल्क तोकिएको छ ।

वनको आयस्रोत भनेको झाँडी सरसफाइ, काठपात बिक्री नै हो । ठूलो आयस्रोत नहुँदा मरेका पशुहरु टाढा–टाढाबाट ल्याउन भने ढुवानी खर्चको समस्या भइरहेको अध्यक्ष पंगेनीले जनाउनुभयो । सम्बन्धित व्यक्तिले वन समूहसँग सम्पर्क गरेर अनुमति लिएर मात्रै मरेका गाईवस्तु ल्याउने व्यवस्था वन समूहले गरेको छ ।

आहार र बासस्थान समस्याले चितवन राष्ट्रिय निकुञ्जको कसेरामा गिद्धले बासस्थान सारेको थियो । पछिल्लो समय बासस्थान व्यवस्थित र आहार व्यवस्थापनलाई स्थानीयले चासो दिन थालेपछि पुनः फर्केर यही बासस्थान बनाएर बसेका छन् । गिद्धको आहार व्यवस्थापनका लागि करिब रु नौ लाखको लागतमा आहार केन्द्र, गिद्ध अवलोकनका लागि रुखघर निर्माण गरिएको छ । “यहाँ प्रशस्त मात्रामा गिद्धहरु भेटिन्थे, आहार कम र सिमलका रूखहरु मासिन थालेपछि हराउँदै गएका हुन्,” उहाँले भन्नुभयो, “अहिले सिमलका रूखहरु जोगाउने, आहार व्यवस्थित गरिन थालेपछि गिद्ध बढ्दै गएको छ, आहार व्यवस्थापन कमजोर हुँदा बच्चा उत्पादन दर कम हुने र जन्मेका बच्चा सफल हुने दर कम भएको पाइयो, अब बासस्थान जोगाउने, आहार परिपूर्तिमा हाम्रो ध्यान केन्द्रित छ ।

गिद्ध संरक्षण गर्दै यहाँ जटायु पार्क पनि निर्माण गरिएको छ । यहाँ पार्क बनेपछि शनिबार र बिदाका दिन अवलोकन गर्न आउनेको चहलपहल बढ्न थालेको छ । पर्यटकलाई लक्षित गर्दै यहाँ पौवा, बुद्धको मूर्तिसहितको मन्दिर, कालीगण्डकी नदीको किनारसँग जोडिएको ८४० मिटरको पैदलमार्ग र प्रवेशद्वार निर्माण गरिएको छ ।

यहाँ भएका संरचना निर्माण तथा वन संरक्षणका लागि जिल्ला वन कार्यालय पाल्पाले सघाएको छ । आहार व्यवस्थापनका लागि रामपुर–८ को वडा कार्यालयले गत वर्ष रु ७५ हजार सहयोग गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा पर्यटन मन्त्रालयबाट विनियोजित रु १० लाख रकमबाट झाडी सरसफाइ, पैदलमार्ग, चौतारी र पार्क निर्माण गरिएको छ । यस कार्यमा रु एक लाख ११ हजारको उपभोक्ताबाट श्रमदान भएको छ । झाडी र बोटबिरुवाले भरिएको यस वनलाई २०४९ सालदेखि सामुदायिक वनमा परिणत गरिएको हो । २०५० सालमा सामुदायिक वनलाई यहाँका स्थानीयबाट समिति गठन गरेर संरक्षणको प्रयास थालियो ।

यहाँ रानी, डङ्गुर, हाँडफोर, राजगिद्ध र गोब्रे जातका गिद्ध रहेका छन् । हाँडफोर गिद्ध भने समय–समयमा मात्रै देखिन्छ । वनको करिब चार हेक्टर क्षेत्रफललाई कालीगण्डकीले टापु आकारमा घरेको छ । टापुभित्रका सिमलका रूखमा मात्रै हाल १७ वटा गिद्धका गुँड रहेको छ । गिद्धले टापुक्षेत्रलाई नै बासस्थानका रुपमा रोज्ने गर्दछ । सिमलका रूखहरु काट्न थालेपछि गिद्धहरु यहाँबाट बासस्थान छाडेर अन्यत्र जान थालेका हुन् ।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले वनबाट स्थानीय सरकारले प्राप्त गर्ने आयआर्जनका कुरा कानुनसँग बाझिएको कारणले रोकिएको बताउनुभयो । छ प्रजातिको गिद्ध पाइने खैरेनी वनको प्रवद्र्धनका लागि नगरपालिका लागिपरेको नगर प्रमुख थापाले बताउनुभयो । कालीगण्डकी नदीको धार्मिक क्षेत्र उत्तरगङ्गामा अवस्थित यस वनले पर्यटन विकास मात्र नभई पक्षी संरक्षणको अभियान थालेपछि यसले यहाँको जैविक विविधता संरक्षणमा योगदान पुगेको रामपुरका अग्रज पत्रकार बासुदेव ढकाल बताउनुहुन्छ ।

पर्यटक तान्दै जटायु पार्क

गिद्ध संरक्षण र यो क्षेत्रलाई गिद्धको हबका रुपमा विकास गर्न वन समूहले जटायु पार्क निर्माण गरेको छ । करिब तीन रोपनी क्षेत्रफलमा रु १० लाखको लागतमा पार्क निर्माण गरिएको छ । पार्कभित्र गिद्धको प्रतिमा बनाइएको छ । पार्कभित्र पैदलमार्ग, चारैतिर घेराबार गरिएको छ । पर्यटकलाई आरामस्थलका लागि पार्क क्षेत्रमा पक्की चौतारी निर्माण गरिएको छ । जटायुपार्क निर्माण भएपछि आन्तरिक पर्यटक अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । गिद्धलाई पृष्ठभूूमिमा राखेर फोटो तथा भिडियो खिच्ने, टिकटक बनाएर सामाजिक सञ्जालमा राख्न थालिएसँगै पर्यटक आउने क्रम बढ्दो छ ।

यस्ता छन्, वन समूहको योजना

वनको करिब चार हेक्टर क्षेत्रफल कालीगण्डकी नदीले टापु आकारमा घेरेको छ । यो क्षेत्र पर्यटकको आकर्षण बनिरहेको छ । त्यहाँ पुग्नका लागि एउटा झोलुङ्गे पुल बनाउने, टापु वरिपरिका भागमा रहेका बोटबिरुवालाई सुरक्षित राख्ने बताइएको छ । वनभोजस्थल बनाउने, वन क्षेत्रलाई व्यवस्थित गरी आन्तरिक पर्यटक मात्र नभई बाह्य पर्यटक भित्र्याउने योजना छ । वनको पर्यटकीय विकासका लागि दशवर्षे योजना तयार पारिएको छ । जैविक विविधता र वातावरण जोगाउने, धार्मिक, पर्यटकीय र वन जङ्गल जोगाउने अभियान उपभोक्ताको छ ।

कालीगण्डकी नदीको उत्तरवाहिनी क्षेत्रमा रहेकाले यो क्षेत्र धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । यहाँ श्मशानघाट, झोलुङ्गेपुल, उत्तरगङ्गाघाट बनाउने योजना छ । यस वर्ष पर्यटन तथा सौन्दर्यका लागि पार्क निर्माण शीर्षकमा रु १०/१० लाख फरक–फरक शीर्षकमा बजेट विनियोजन भएको छ । वन समूहमा १४४ उपभोक्ता आबद्ध छन् । करिब ३१ दशमलव आठ हेक्टर क्षेत्रफलमा वनभित्र खयर, सिमलका रूख, खयर प्रजातिका रूखबिरुवा, स्याल, खरायो, दुम्सी, मृग, जलहाँस, कालिज, कुखुरा जस्ता पशुपक्षी छन् ।

पक्षी संरक्षण वनको पहिचान दिने

अबको एक दशकपछि वनलाई अवलोकन गर्ने मात्र नभई पक्षी संरक्षण गर्ने, गिद्ध संरक्षण गर्ने गरी समितिले योजनाबद्ध तरिकाले काम गरिरहेको छ । यहाँ करिब १६५ प्रजातिका चराचुरुङ्गी भेटिन्छन् । यहाँबाट गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्न नदिने, पर्यटनबाट आम्दानीको स्रोत बनाउन पूर्वाधार विकासमा जोड दिइएको छ ।

कालीगण्डकी नदीको किनारमा अवस्थित रहेकाले पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी यहाँ घरबास बनाउने तयारी छ । कालीगण्डकीमा जलयात्रा नियमित सञ्चालन भएपछि बाह्य पर्यटक भित्रिने प्रशस्त सम्भावना छ । घरबास सञ्चालन गरेर यहाँका स्थानीयको जीवनस्तर उकास्ने खालका काममा वन समूहले गुरुयोजना बनाएको छ ।

गिद्धले सडेगलेका सिनो खाने भएकाले पनि रोगमुक्त बनाउन योगदान गर्छ । धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनका रूपमा पुजिन्छ । विश्वमा २३ प्रजाति र नेपाल लगायत दक्षिण एसियामा नौ प्रजातिका गिद्धहरु पाइन्छन् । सिकारी चरा भए पनि गिद्ध आफैँले सिकार नगरी मरेका जनावरका मासु अर्थात् सिनो मात्र खान्छ । गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ