रुपन्देही । नेकपा (एमाले) का सचिव एवं लुम्विनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले देश समाप्तिको डिलमा पुगेकोले अव देश वचाउने जिम्मा एमालेको काँधमा आएको वताएकी छिन् । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको तेश्रो पूर्ण वैठकलाई सम्वोधन गर्दै उनले प्रधानमन्त्री कुर्सी डगमगाउला भनेर अनेक तिकडम गरिरहेकाे आरोप समेत लगाईन् ।
प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा सचिव लक्ष्मण आचार्यले सञ्चालन गरेको बैठकमा अर्यालले राजश्व उठ्ने क्रम पहिलाभन्दा प्रति महिना ४ अर्व कम भएको भन्दै प्रति महिना १ खर्व १५ अर्व १४ करोड व्यापार घाटा भएकोमा दु:ख व्यक्त गरिन् । ‘२० करोडसम्म भारतले नेपालमा आएर सिधै खर्च गर्ने व्यवस्था डर लाग्दो हो’ उनले भनिन्, ‘विभिन्न प्रकारका सूचना लिनका लागि यसप्रकारका माध्यम बनाइएको छ । यो नेपाल कब्जा गर्ने रणनीति हो ।’
पूर्व मुख्यमन्त्री तथा पोलिटव्युरो सदस्य लीला गिरीले प्रदेश स्थापनाकालमा एमाले नेतृत्वमा वनेको सरकारले सवैभन्दा धेरै वजेट खर्च गर्न सकेको प्रसंग उल्लेख गर्दै सरकारलाई टिक्न नदिएर कार्यकर्ता पोस्ने र भ्रष्टाचारलाई सस्थागत गर्ने तरिकाले काम भएको आरोप लगाए ।
वैठकमा पार्टी केन्द्रबाट प्राप्त परिपत्रको अध्ययन गरी यस अघि सचिवालय वैठकले गरेका निर्णयको अनुमोदन गर्दै तदनुसारको निर्देशन कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गरिएको छ । साथै रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा २ सय ५ जना स्वयंसेवक खटाएकोमा सो अभियान प्रभावकारी रहेको निष्कर्ष समेत बैठकले निकालेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत् समृद्घिका लागि संकल्प यात्रामा पूर्वी रुकुम र गुल्मीले गरेको कामको उच्च मूल्यांकन गर्दै बैठकले धन्यवाद ज्ञापन पनि गरेको छ । साथै वैठकले राष्ट्रियसभामा सिफारिस गरेका नामको पनि अनुमोदन गरेको छ ।
वैठकले सल्लाहाकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च र ३१ वटा विभागहरुलाई पूर्णता दिएको छ । यसवाहेक केन्द्रीय निकाय, सल्लाहकार परिषद र सिफारिस गर्नुपर्ने नामको सिफारिस गरेको छ ।
वैठकले जिल्ला तथा पालिका र वडास्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक निर्णय गरेको छ । साथै.सदस्यता नविकरण र नयाँ सदस्यता प्रदान गर्ने निर्णय गर्नुका साथै जिल्ला र मातहत कमिटीका अधिवेशन गर्नका लागि निर्देश गरेको छ ।
यस्तै जनसंगठनका सन्दर्भमा पनि प्रदेश, जिल्ला तथा मातहत कमिटीका सम्मेलन, वैठक, भेला तथा प्रशिक्षण सञ्चालन गर्ने र प्रदेश जनसंगठन संयन्त्रको वैठक सञ्चालन गर्नका लागि पनि आवश्यक निर्णय गरेको छ ।
लुम्विनी प्रदेशका १२ वटै जिल्लाका पार्टी अध्यक्षहरुले जिल्ला तथा मातहत कमिटीको वैठकको अवस्था, पालिका तथा वडा अधिवेशनको अवस्था, जनसंगठनको अवस्था, प्रशिक्षण कार्यक्रमको तयारी अवस्थामा केन्द्रीत रही आ–आफ्नो जिल्लाको रिपोर्टिङ गरेका थिए भने रुकुम पुर्वको रिपोर्टिङ प्रदेश कमिटि सदस्य लिलामणि गौतमले गरेका थिए ।