शनिबार, फागुन १०, २०८१

विपन्नका लागि वडाले ल्यायो ‘जनता औषधि कार्यक्रम’


झापा, २७ माघः स्वास्थ्य बिमामा नसमेटिएकाका लागि औषधिमा सहुलियत पुर्याउने उद्देश्यले अर्जुनधारा नगरपालिका–३ ले सञ्चालन गरेको ‘जनता औषधि कार्यक्रम’ विपन्न समुदायका लागि बरदान सावित भएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को पुसबाट सुरु भएको सो कार्यक्रमबाट लाभान्वित हुनेको सङ्ख्या २८ हजार नाघेको वडाध्यक्ष सीताराम भट्टराईले बताउनुभयो । “सरकारको स्वास्थ्य बिमा कार्यक्रममा सबै परिवार जोडिएका हुँदैनन्”, वडाध्यक्ष भट्टराईले कार्यक्रमबारे जानकारी दिँदै भन्नुभयो, “हामीले सुरु गरेको जनता औषधि कार्यक्रमबाट बिमामा जोडिएका र नजोडिएका सबै नागरिकले सहुलियत प्राप्त गर्नुहुन्छ ।”

वडामा रहेको खुदुनाबारी स्वास्थ्य चौकीमार्फत यो कार्यक्रम सञ्चालन गरिएको छ । बिमामा नपाइने अर्थात् बिरामीले खरिद गर्नुपर्ने औषधिमा स्वास्थ्य चौकीले ७५ प्रतिशतसम्म छुट दिने गरेको वडाध्यक्ष भट्टराई बताउनुहुन्छ ।

‘जनता औषधि कार्यक्रम’लाई व्यवस्थित बनाउन वडाले कार्यविधि निर्माण गरेको छ । बर्सेनि वडाले कार्यक्रम सञ्चालनका लागि रु पाँच लाख बजेट विनियोजन गर्दै आएको छ । कार्यक्रम सुरु भएसँगै यहाँ सेवा लिन आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको खुदुनावारी स्वास्थ्य चौकीका प्रमुख डम्बर मिश्रले बताउनुभयो । बजारमा महँगो मूल्यमा किन्नुपर्ने औषधि सुलभ मूल्यमा पाइने भएपछि दैनिक २०० सम्म बिरामी आउने गरेको उहाँले बताउनुभयो ।

“यो सेवा सुरु गर्र्नुअघि दैनिक २५ देखि ३० जनामात्र बिरामीले सेवा दिने गरेका थिए”, उहाँले भन्नुभयो, “हाल दैनिक २०० बिरामीले सेवा लिइरहनुभएको छ, औषधिमा हामी मुनाफा खोज्दैनाँै, सेवा पुर्याउने उद्देश्य राखिएको छ ।”

वडा कार्यालयले रु पाँच लाख बजेट दिएर सुरु भएको कार्यक्रम लोकप्रिय बनेपछि हाल एकैपटकमा रु १४ लाख बढीको औषधि खरिद गर्न सक्ने अवस्थामा स्वास्थ्य चौकी पुगेको उहाँले जानकारी दिनुभयो ।

सेवा लिन अर्जुनधाराका अरु वडावासीमात्र होइन, छिमेकी पालिका बिर्तामोड, बुद्धशान्ति र मेचीनगरका बिरामीसमेत आउने गरेको मिश्रले बताउनुभयो । उहाँले कतिपय औषधि शतप्रतिशत बोनसमा आउने र कतिपय एक बट्टा खरिद गर्दा तीन बट्टा सित्तैमा आउने हुँदा जनताले अत्यधिक सहुलियतमा गुणस्तरीय औषधि पाउने गरेको उहाँको भनाइ छ । नेपाल सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बिमा कार्यक्रमको तुलनामा यो कार्यक्रम बढी प्रभावकारी भएको उहाँले दाबी गर्नुभयो ।

सरकारको स्वास्थ्य बिमा कार्यक्रममा निःशुल्क औषधि दिइने भनिए पनि धेरैजसो औषधि बीमाको सूचीभित्र पर्दैनन् । त्यसका कारण नागरिकले महँगो मूल्यमा औषधि खरिद गर्नुपर्ने बाध्यता छ । अर्जुनधारा वडा नं ३ मा बिमाको सूचीमा नपर्ने औषधिसमेत सहुलियतमा पाइने भएकाले वडावासी खुसी भएको वडाध्यक्ष भट्टराई बताउनुहुन्छ ।

प्रमुख मिश्रले वडा नं ३ मा तीन हजार ६०० दीर्घरोगका बिरामी रहेको बताउनुभयो । तीमध्ये २० प्रतिशतमात्र स्वास्थ्य बिमामा आबद्ध छन् । खुदुनावारी स्वास्थ्य चौकीमा उपचार सेवालाई व्यवस्थित र भरपर्दो बनाउन विभिन्न दातामार्फत रु ८५ लाखभन्दा बढीको उपकरण निःशुल्क जडान गरिएको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षमा १७ हजार ५०० र चालु आवको छ महिनामा ११ हजार बढीले जनता औषधि कार्यक्रमबाट सेवा लिएको स्वास्थ्य चौकीका प्रमुख मिश्रले जानकारी दिनुभयो । चालु आवमा २५ हजार बिरामीलाई सेवा दिने स्वास्थ्य चौकीको लक्ष्य छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ