शुक्रबार, फागुन ०९, २०८१

संवाद : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद्का लागि संविधान संशोधन गर्नुपर्छ – जनार्दन शर्मा


काठमाडौँ, २६ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राज्यको पुनः संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासकीय स्वरुप र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । उहाँले संविधानमा भएका अधिकारलाई कटौती गर्न र मुलुकलाई पछाडि फर्काउनका लागि गरिने संशोधन आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताउनुभयो ।

माओवादीले संविधान संशोधनयोग्य विषय हो भन्दै आइरहेको छ । संविधान संशोधन नै गर्न नपाइने, ढुङ्गामा लेखिएको अक्षर होइन”, पार्टीको धारणा स्पष्ट पार्दै नेता शर्माले भन्नुभयो, “तर संशोधन अग्रगमनमा जान, जनताका अधिकारलाई सुदृढ गर्न, राज्य प्रणालीलाई थप व्यवस्थित गर्न हुनुपर्छ ।

तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा जनमुक्ति सेनाको डिभिजन कमाण्डर, सेना समायोजन विशेष समिति सदस्य, शान्ति प्रक्रियायता शान्ति तथा पुनर्निर्माण, ऊर्जा जलस्रोत तथा सिँचाइ, गृह र अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका शर्मा रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । नेता शर्मासँग ‘सांसदसँग रासस संवाद’का लागि राससका सहसम्पादक हरि लामिछाने र समाचारदाता अशोक घिमिरेले लिएको अन्तर्वार्ताको सम्पादित अंश ।

–पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेरिरहनुभएको छ ?

सामान्यतः व्यक्तिगत राजनीतिक जीवन सामान्य रुपमा चलिरहेको छ । तर देशको आजको आवश्यकता, जनताको चाहना र राजनीतिले गर्नुपर्ने काम भइरहेको देख्दिन । सरकारहरु हामीले बनाइराखेका त छौँ । सरकारहरु बन्ने र फेरिने क्रम पनि जारी छ । पछिल्लो पटक दुई ठूला राजनीतिक दलको बलियो गठबन्धन सरकार बनेको छ । तर पनि यो सरकारले कति काम गरेर जनतालाई सन्तुष्ट गर्न सक्यो भनेर अहिले पनि प्रश्न उठिरहेको छ । सरकारका कामकारबाही निरन्तरतामा त छ, तर देशको यथार्थता, आवश्यकता र जनताको जीवन बदल्ने गरी के–के भइरहेको छ भनेर हेर्यो भने निराशा मात्र देखिन्छ । मुख्यतः स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा जनतामा असन्तुष्टि छ । देशभित्रै रोजगारी सिर्जना, शिक्षामा आमुल सुधार, सरल र सहज स्वास्थ्य सेवा सुनिश्चित गर्न सकिएको छैन । जनताको आकाङ्क्षा र अपेक्षाअनुसार जनजीविकाका सवालहरु प्रभावकारी रुपमा सम्बोधन हुन नसक्दा राजनीतिक परिवर्तनसँगै हाम्रो जीवनमा के परिवर्तन भयो भनेर आमजनताले प्रश्न उठाइरहेका छन् । यसको जवाफ राजनीतिले दिनुपर्ने हो, तर हाम्रो राजनीति त सरकार बनाउने र ढाल्ने तथा सरकारको आलोचना र समर्थन गर्ने होडबाजीमा सीमित छ ।

–राजनीतिले जनजीविकाको सबाल सम्बोधन गर्न नसक्नुका कारण के रहेछ ?

मुलभूतरुपमा राजनीति अन्तै अल्झिरहेको छ । सेवाप्रवाह भनेजस्तो हुन सकिरहेको छैन । समग्र राज्य पुनः संरचना हुनुपथ्र्यो । नयाँ योजना, कार्यशैली र संरचना हुनुपथ्र्यो । हामीले राजनीतिक परिवर्तन गरेपनि देशमा पुरानै राज्य संयन्त्रले निरन्तरता भयो । हाम्रो काम गर्ने तौरतरिका पुरानै छ । बजेट बनायो, त्यसलाई खर्च गर्ने अवस्था हुँदैन, कर्मचारीतन्त्रमा सबै कुरा अल्झन्छ । राजनीतिक नेतृत्व पनि कर्मचारीतन्त्रले के भन्छ त्यसमै लाग्छ । राजनीतिले कमान्ड गरिरहेको अवस्था छैन । अहिले झण्डै दुईतिहाइको सरकार छ, तर कमाण्ड गरेको छ त ? पूँजीगत खर्च र सेवाप्रवाहको अवस्था हेर्दा आशातित प्रगति देखिँदैन । राज्य प्रणालीलाई सुधार गर्ने, त्यसलाई बलियो बनाउने र जनताप्रति उत्तरदायी बनाउने पक्षमा कहिनकहीँ कमजोरी छ ।

–व्यवस्था बदल्ने भनेर तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा दशवर्षे जनयुद्ध भयो । त्यसको जगमा मुलुक जनआन्दोलन हुँदै गणतन्त्र, सङ्घीयता र नयाँ संविधानसम्म आइपुग्दा जनताको अवस्था किन बदलिन सकेन ?

मुलुकमा सामन्तवादको अन्त्य भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु आफैँमा ठूलो उपलब्धि हो । जनतन्त्रका सवालमा संविधानमा अधिकारहरु पनि लेखिए । केही सम्बोधन गर्न बाँकी भए पनि जनताको मौलिक अधिकारको दृष्टिले धेरै विषय समेटिएका छन् । तर लेखिएका कुराहरुको व्यावहारिक कार्यान्वयन हुन सकेन । मौलिक हक कार्यान्वयन गर्न राज्यका संयन्त्र बलियो हुनुपथ्र्यो । ती जनताप्रति उत्तरदायी र सुशासनयुक्त हुनुपथ्र्यो । राजनीतिक पार्टीहरु सरकार निर्माण गर्ने र ढाल्नेमै बढी केन्द्रित हुँदा धेरै अहम् मुद्दाहरु ओझेलमा परे । जनता यसबाट अलगथलग रहे । राज्यको समग्र प्रणालीबाट जनता प्राथमिकतामा परेनन् ।

–संविधान संशोधन गरेर मुलुकलाई राजनीतिक स्थिरता दिने सहमतिका साथ नेपाली कांग्रेस र नेकपा (एमाले) अघि बढिरहेका छन् । संविधान संशोधनमा माओवादीको धारणा के हो ?

माओवादीले विगतदेखि नै संविधान संशोधनयोग्य हुन्छ भन्दै आइरहेको छ । संविधान संशोधन नै गर्न नपाइने, ढुङ्गामा लेखिएको अक्षर होइन । तर संशोधन अग्रगमनमा जान, जनताका अधिकारलाई सुदृढ गर्न, राज्य प्रणालीलाई थप व्यवस्थित गर्न हुनुपर्छ । समानुपातिक, समावेशीलगायतका जनताका अधिकार खोस्ने गरी होइन कि, अझ यसलाई समृद्ध बनाएर देशलाई प्रगतिका बाटोमा लैजानका लागि गरिने संशोधनको माओवादी विरोधी होइन । राज्यको पुनःसंरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासकीय स्वरुप र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न सकिन्छ । तर संविधानमा अहिले भएका अधिकारलाई कटौती गर्न र मुलुकलाई पछाडि फर्काउनका लागि गरिने संशोधन हुन दिँदैनौँ ।

–संसद्को हिउँदे अधिवेशन प्रारम्भ भइसकेको छ, हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । संविधान जारी भएको झण्डै दशक पुग्न लागिसक्यो । संविधान र सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुन अझै निर्माण हुन सकिरहेका छैनन्, आफूलाई व्यवस्था परिवर्तनको प्रमुख संवाहक मान्ने माओवादीले उक्त व्यवस्थालाई सुदृढ बनाउन आवश्यक कानुन निर्माणमा कस्तो भूमिका खेल्छ ?

संविधान कार्यान्वयनसँग सम्बन्धित कतिपय कानुन जारी भएर पनि कार्यान्वयनमा आउन सकेका छैनन् । कतिपय कानुन बन्न बाँकी नै छन् । जस्तो सङ्घीय निजामती, शिक्षा र प्रहरीलगायत महत्वपूर्ण ऐन बन्न बाँकी छ । ती ऐन शीघ्र जारी गर्ने सन्दर्भमा सरकारले सदनमा ल्याउने कानुनलाई संविधानको मर्म र देशको आवश्यकताअनुसार निर्माण गर्नेमा माओवादीको सक्रिय सहभागिता हुन्छ । त्यसलाई थप व्यवस्थित र जनउत्तरदायी बनाउन हामीले आफ्नो ठाउँबाट मिहेनत गर्छौँ । तर, यहाँ एउटा विषय छ, यसैसँग जोडिएको । अहिले केही अध्यादेशहरु आएका छन् । सरकारले अध्यादेश ल्याउन पाउँछ । अध्यादेशमा सबै नराम्रा कुरा छन् भन्ने पनि होइन, राम्रा कुरा पनि छन् । ती प्रावधानले कतिपय क्षेत्रमा राम्रो गर्छ भन्ने पनि छ । तर त्यसभित्र घुसाइएर आएका कतिपय प्रावधान छन्, त्यसले प्रश्नहरु उठाएका छन् । हामी त्यस्ता प्रश्नहरुको स्पष्टताका लागि सरकारसँग आग्रह गर्छौँ र नियत गलत भएका ठाउँमा प्रतिवाद पनि गर्छौँ । संसद्ले बहुमतबाट निर्णय गर्न पाउँछ, तर आम जनभावनालाई ठेस पुग्ने गरी गर्न पाइँदैन । प्रमुख प्रतिपक्षीको हैसियतले माओवादीले जनभावनालाई जोडदाररुपमा संसद र सडकमा उठाउँछ ।

–तत्कालीन विद्रोही माओवादी र राज्यबीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष नाघिसकेको छ । अझै पनि शान्ति प्रक्रियाका महत्वपूर्ण काम थाँती छन् । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुग्न कहाँ समस्या भइरहेको छ ?

सम्मानित सर्वोच्च अदालतले सङ्क्रणकालीन न्यायसम्बन्धी कानुन निर्माण गर्नू भनेर आदेश गरिसकेपछि पनि संसदबाट कानुन निर्माण गर्न लामो समय लाग्यो । कानुन अनुसार पहिला बनेका आयोगहरुले केही काम थालनी गरे, तर पूर्णता पाउन सकेन । १८ वर्ष लगाएर ठूलो मिहेनतका साथ हामीले कानुन निर्माण गरेका छौँ । दलहरुबीचको कार्यदलमा गहन छलफल गरेर टुङ्गोमा पुग्यौँ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगको पदाधिकारी छनोट गर्ने सर्च कमिटीले आफ्नो ढङ्गले काम अघि बढायो । सरकारमा सहभागी दलको प्रस्ताव माओवादीले स्वीकार गरेको पनि हो । तर त्यो सर्च कमिटीले पदाधिकारी छनौट नै गर्न नसकी विघटन भयो । यसले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेतर्फ गम्भीर क्षति पुर्याएको छ । शान्ति प्रक्रिया माओवादी पार्टीको मात्रै विषय होइन । यो राष्ट्रको इज्जत, प्रतिष्ठासँग जोडिएको विषय हो । द्वन्द्वपीडित महिला, घाइते तथा सहिद र बेपत्ता परिवारको अवस्था दर्दनाक छ । छिटोभन्दा छिटो शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्छ भनेर माओवादीले पटकपटक आवाज उठाइरहेको छ । तर यो अघि बढ्न सकिरहेको छैन । सदनमा हामी यसबारेमा पनि बहस गर्नेछौँ र छिटो अघि बढाउन सरकारलाई दबाब पनि दिनेछौँ ।

–यहाँले अर्थ मन्त्रालयका जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ । मुलुकको आर्थिक अवस्थालाई कसरी नियाल्नुहुन्छ । के मुलुकको अर्थतन्त्रलाई सुधार गर्न हामी चुकेकै हौँ ?

देशको विशेषताका आधारमा विकासको आफ्नो मोडालिटी तयार गर्नुभन्दा अरुको देखासिखीमा हामी लाग्यौँ । राष्ट्रिय प्राकृतिक साधनस्रोतलाई महत्व दिएर बढीभन्दा बढी उपभोग गर्नुपर्नेमा हामी अन्यन्त्रै अल्झियौँ । अर्थतन्त्रको बोक्रे कुरा गर्यौँ । हामीले जमिन, जङ्गल, जनशक्ति, पानी र खानीको कुरा गरेनौँ । यसको सदुपयोग गर्नतर्फ नलागेर युवालाई विदेश पठाउनेतिर बढी जोड दियौँ । उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न लागेनौँ । स्वदेशमै रोजगारी सृजना गर्ने, आम्दानी वृद्धि गर्नेतर्फ ध्यान दिएनौँ । आर्थिक समुन्नतिका लागि पहिलो अर्थतन्त्रको मोडल नै बदल्नुपर्छ । आत्मनिर्भरता पक्षमा नगई युवालाई विदेश पठाउने र विप्रेषणमा रमाउने प्रक्रिया जब सुरु भयो, त्यसले गडबड गरिरहेको छ । अहिले हामी उल्टो बाटोमा छौँ, यसलाई नसुल्टाएसम्म अर्थतन्त्रको सुधारका कुरा बेकार छ । समग्र आर्थिक पुनःसंरचना र मोडल परिवर्तन गरेर आमजनताको तागतमा सबै साधनस्रोतको उपयोग नगरिकन अर्थतन्त्र माथि उठ्दैन ।

–जाजरकोट, रुकुम सहित पश्चिम नेपालमा भूकम्पले गरेको क्षति ठूलो छ । भूकम्प पीडितहरु अहिले पनि पालमै बसिरहेका छन् । उनीहरुका लागि यहाँले के गरिरहनु भएको छ ?

भूकम्पको कुरा गर्दा, पश्चिम नेपालमा भूकम्प गएको जानकारी पाउनेबित्तिकै म त्यसतर्फ केन्द्रित भएँ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहानै भूकम्पको केन्द्रबिन्दुमा लैजान मैले नै प्रयत्न गरेँ । त्यहाँ गएर राहत र उद्धार राम्रो भयो । त्यसपछि पीडितका लागि अस्थायी आवास निर्माण गर्ने कुरा आयो, त्यसमा सिङ्गो देशभरका स्वयम्सेवक आउनुभयो । म पनि जनतासँगै खटिएँ । पुनःनिर्माणका लागि अघिल्लो सरकारले प्रतिपरिवार रु पाँच लाख दिने गरेको निर्णय कार्यान्वयन हुन पाएन । भूकम्प गएको वर्षदिन बितिसक्यो, अझै पुनःनिर्माणका काम भएको छैन । यतातर्फ सरकारको ध्यान जानुपर्छ । छिटोभन्दा छिटो पुनःनिर्माण नगरी जनतालाई सेवा दिन सकिँदैन । भूकम्पपीडितको पीडामा मलम लगानुपर्छ भनेर म हरेक दिन सिंहदरबार धाइरहेको छु ।

–विगतमा यहाँले महत्वपूर्ण मन्त्रालयहरुको जिम्मेवारी सम्हाल्नुभयो । त्यसलाई कसरी सम्झनुहुन्छ ?

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गरिबी निवारण गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने मोडल बनाउन खोजेको हो । शिक्षालाई सीप र उत्पादनसँग जोड्ने र औद्योगिक आत्मनिर्भरको अवस्था सिर्जना गर्ने नीति देश र जनताप्रति केन्द्रित थियो । मेरो नीतिले कहाँकहाँ हल्लायो, कसलाई नाफाघाटा भयो मैले हिसाब गरिनँ । मैले देशको नाफाघाटालाई हेरेँ । उच्च शिक्षा अध्ययन गरेकाले अनिवार्य एउटा सीप सिक्ने, सूचना प्रविधिका क्षेत्रमा कर मिनाहा, स्टार्टअपलाई प्राथमिकता, भौतिक पूर्वाधारको समानुपातिक विकासको नीति अघि सारेको थिएँ । ती योजनाले राजनीतिक र आर्थिक क्षेत्रमा कम्पन गर्यो भन्ने लाग्छ । त्यतिबेला सबैकुरा मेरा विरुद्धमा आयो, अब अहिलेको अर्थतन्त्र कहाँ छ ? आज यहाँसम्म आइपुग्दा त सबैलाई महसुस भइरहेको छ कि मैले गरेको ठिक कि बेठिक भनेर । देशलाई आत्मनिर्भर बनाउने कुरा मैले गरेँ, त्यो राष्ट्र र जनताको पक्षमा थियो ।

मैले ऊर्जा मन्त्रालयमा जिम्मेवारी पाउँदै गर्दा मुलुकमा चर्को लोडसेडिङ थियो । मैले लोडसेडिङ अन्त्य गर्छु भनी प्रतिबद्धता व्यक्त गरेँ । ढल्केवर सवस्टेसन अलपत्र थियो, तीन सिफ्टमा काम गराएँ । नेपाल विद्युत् प्राधिकरण घाटामा थियो, आजको दिनदेख नाफामा लैजानुपर्छ भनेर त्यहाँभित्रको भ्रष्टाचार र बिजुली चोरेर बेच्ने प्रवृत्तिको अन्त्य गरेँ । यसबाट लोडसेडिङ अन्त्य भयो । जिम्मा पाएको ठाउँमा आफ्नो तागतले भ्याएसम्म इमान्दारितापूर्वक काम गर्ने हो । व्यक्तिगत स्वार्थ र फाइदा हेर्ने होइन ।

–पार्टीभित्र तपाइँ नेतृत्वका सवालमा बेलाबखत विवादमा आइरहनु हुन्छ । पार्टी संगठनलाई सुदृढ बनाउन के गर्दै हुनुहुन्छ ?

अब पार्टीमा हिजोको अवस्थाबाट आजको अवस्थामा आइपुग्नुमा जिम्मेवार को त ? पार्टीका नेता जिम्मेवार हुने होला नि त ? मुख्य नेता मुख्य, अरु नेता त्यहीअनुसार हुँदै जाने होला त क्यारे । हामीले कमजोरी गर्यौँ भनेर महसुस गर्नु परेन ? हिजोको वर्ग, दलित, महिला मधेसी, आदिवासी जनजाति, गरिबलाई दिएका आश्वासन पूरा गर्न लाग्यौँ कि कता लाग्यौँ भनेर आज प्रश्न उठिरहेको छ । हो त्यो प्रश्नको जवाफ दिनुपर्छ । हामी विचलित भयौँ भनेर मैले पार्टीभित्र प्रश्न उठाएको हो । त्यसका लागि पार्टीभित्र छलफल हुनुपर्छ । अबको बाटो के हुने भनेर पार्टीमा वैचारिक वहस, विधि र प्रणाली चाहिन्छ । यो पार्टी निर्माणको उद्देश्य र पार्टीलाई बलियो बनाउने विषयमा केन्द्रित भएर लामो छलफल भयो । केन्द्रीय समितिसम्म आइपुग्दा मैले राखेको धारणा नै केन्द्रीय समितिको एजेन्डा बन्यो ।

मैले उठाएका बहस, पार्टीभित्र सुधार गर्ने र पार्टीलाई लोकतान्त्रिक गर्ने बहस, विद्यार्थी सङ्गठन विषयसम्म आइपुग्दा निर्वाचन गरेर त्यसलाई स्थापित गर्ने बहसले पार्टीलाई लोकप्रिय बनाउनेतर्फ नयाँ लहर आएको छ । पार्टीका नेताको सम्पत्ति छानबिन गर्ने कुरा अघि बढाएपछि जनतामा विस्तारै विश्वास जागेको छ । अब फेरि नढाँटीकन, जनतालाई छलछाम नगरी गर्यो भने माओवादी फेरि सशक्त भएर आउने देखिन्छ । मैले अघि सारेको एजेण्डाअनुसार पार्टी केन्द्रमा निर्णय भएका छन् ।

–पार्टीभित्र पनि उमेर हद लगाउनुपर्छ यहाँको दृष्टिकोण हो ?

विद्यार्थी सहित पार्टीका सबै मोर्चामा उमेर हद लगाउने, निर्वाचित गर्ने र अवधि तोक्ने कुरा हुन्छ । कुन उपयुक्त हुने हो, अवधि गर्ने कि, उमेर हद लगाउने कि, निर्वाचन प्रक्रियाबाट हल गर्ने कि ? निर्वाचन हुँदा त कति वर्षसम्मले लड्न पाइन्न भन्ने पनि नहुन सक्छ नि । त्यसैकारण मैले यही भन्ने भएन तर महाधिवेशनमा जाँदा यी विषय निचोडमा पुगिन्छ ।

–यहाँले पार्टीभित्र उमेर हद र प्रतिस्पर्धाको कुरा गरिरहँदा पार्टी नेतृत्व लिनका लागि पूर्वयोजना बनाइरहेको भन्ने टिप्पणी छ नि ?

हैन, नेतृत्व लिने भनेर योजना बनाएर केही पनि गरेको होइन । माओवादी पार्टी हिजो के थियो ? आज कहाँ छ ? यो कुराको समीक्षा गरेको हो मैले । हिजो माओवादीको लहर आज किन घट्यो ? किन हामीले निर्वाचन क्षेत्रको रक्षा गर्न सकेनौँ ? भन्नैपर्छ, जनताका समस्या हामीले सुनेनौँ । त्यसैले जनताका समस्या हल गर्ने, हामीले जुन वर्गको प्रतिनिधित्व गर्ने भन्छौँ, त्यसको समस्या हल गर्न सक्ने हैसियत माओवादीसँग हुनुपर्यो नि । त्यो हैसियत राख्न सक्ने पार्टी बनाउन सक्नुपर्छ भन्ने बहस हो यो । त्यो बहस गर्दा आरोप लगाउने भन्ला नेतृत्व गर्नलाई यति गर्यो भनेर । म पार्टी नेतृत्व लिन्छु र लिन्न भनेर हुने होइन, त्यो त परिस्थिति, आन्दोलन र संयोगले हुने कुरा हो । नेतृत्वको अभिलाषा गरेर बहस गरेको होइन, पार्टीभित्र सुधार आन्दोलनको कुरा गरेको हो । पार्टीलाई बलियो बनाएर संविधान र जनअधिकारको रक्षा गर्ने हो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ