प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी सत्ताको खेलमा नलाग्ने दोहोर्याएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले माओवादीदेखि प्रधानमन्त्री केपी शर्मा ओली डराएको आरोप लगाए ।
‘अझै पनि गठबन्धनका साथीहरू माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित संसद्मै म फेरि एकपटक दोहोर्याउँछु, हामी अब सत्ताको खेलमा छैनौं । तपाईहरु देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौं,’ उनको भनाइ थियो, ‘तपाईंहरूका संगतले थोरै मैलिएका थियौं, धुलिएका थियौं । आधारभूत वर्गबाट थोरै टाढिएका थियौं । त्यो धूलो र मैलो टक्टक्याएर हामी फेरि गरिब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौं । अस्ति प्रधानमन्त्रीले संसद्मा गीत गाउनुभयो– ढलेँ, ढलेँ, ढलेँ….। तपाईंहरुबीच विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु, भनिरहनुपर्छ ? हरेक ठाउँमा भनिरहनुपर्ने ? के शेरबहादुरजी कान सुन्नुहुन्न ? सुन्नोस्, हामी टिप्न हिँडदैनौं यो सरकार तर यो कुहिएर झर्नेवाला छ । हामीले भनेको त्यो हो ।’
आफूहरूको डरले कुर्सी नमिलाउन पनि कांग्रेस एमालेलाई दाहालले आग्रह गरे । उनले आफ्नै बलबुतामा सरकार बनाउने पनि बताए । प्रचण्डले भने, ‘०८४ सम्ममात्र किन, त्योपछि पनि सँगै जानोस्, मेरो शुभकामना छ । हामी सरकार बनाउनेछौं तर आफ्नै सामर्थ्यमा । सरकारको खेलमा हामी छैनौं तर, अहिले जसरी नै संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिँडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं ।‘
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














