सोमबार, माघ २१, २०८१

सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी


त्रिशूली (नुवाकोट), २१ माघ : यहाँको सूर्यगढी गाउँपालिकाले आफ्नो १६औँ अधिवेशन (गाउँसभा) नेपाल–भोट (चीन) युद्धको क्रममा निर्माण गरिएको ‘सूर्यगढी’ मा सम्पन्न गरेको छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरणमा स्थानीय सरकारले निर्वाह गर्न सक्ने भूमिकाको जिम्मेवारी बहन गर्ने उद्देश्यले आइतबार देखि सुरु भएको अधिवेशन आज सम्पन्न गरेको हो । अधिवेशनले चारबुदेँ ‘सूर्यगढी घोषणापत्र/प्रतिबद्धतापत्र’ जारी गरेको छ ।

सूर्यगढीको संरक्षण, प्रवर्द्धन एवं प्रचारमा सहयोग पुग्ने सन्देश प्रवाहका लागि गढीमा सभा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभयो । उहाँकाअनुसार जारी घोषणापत्रमा गढी संरक्षण र प्रवर्द्धनसँगै जलवायु परिवर्तनको प्रभावलाई पालिकाबाट गर्नसक्ने न्यूनीकरणका सम्बन्धमा छलफल गरी गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

चार बुँदे प्रतिबद्धता एवं घोषणापत्रमा सूर्यगढीमा पर्यटन प्रवर्द्धन गर्नका लागि नियमित सरसफाइ गरेर फोहरमैलाको उचित व्यवस्थापन गर्ने र आगामी आर्थिक वर्षमा गढीसहित यस आसपासमा रहेको खाली भूमिमा गुराँसको विरुवा वृक्षारोेपण गर्ने, सूर्यगढीको पहरामा नेपालको नक्सा अङ्कित सौन्दर्य झल्काउने आकर्षक कलाकृति बनाउने उल्लेख छ ।

हरित विकासलाई आत्मसात गर्ने, सूर्यगढीसहित आसपासमा रहेका चन्द्रगढीलगायत गढीमा हरेक वर्ष लाग्दै आएको डढेलो नियन्त्रण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, शिक्षा र स्वास्थ्यको विकास एवं गुणस्तरीय सेवाको लागि विशेष क्षेत्र घोषणा गर्ने उल्लेख गरिएको सभाका सदस्य सचिव एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेश किरण राईले जानकारी दिनुभयो ।

सूर्यगढीसहित यसका करिब आधा दर्जन गढी जीर्ण भएकाले इतिहासको संरक्षण र प्रवर्द्धन गर्दै यसको प्रचारमार्फत पर्यटक भित्र्याउन गाउँपालिकाले एक हजार छ सय ७३ मिटर उचाइमा रहेको गढीमा गाउँसभा गरेर सरोकारवालाहरुको ध्यान केन्द्रित गराएको छ । इतिहासमा प्राप्त तथ्यअनुसार नेपाल–भोट (चीन) युद्धको क्रममा सूर्यगढीको महत्व उल्लेख छ । मूलडाँडो नुवाकोटलाई सुरक्षित आधार तयार गर्न वेत्रावती नदीलाई वरिपरिको किल्ला मजबुद बनाउन नेपाली सेनाले बनाएको यही गढीबाट नेपाली पक्ष विजय भएसँगै विसं १९४९ मा ऐतिहासिक वेत्रावती सन्धि भएको थियो ।

यस गढीबाट नुवाकोट, रसुवाको अधिकांश भूगोल प्रष्टसँग देख्न सकिन्छ भने लाङटाङ, गणेशसहितका हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading