मकवानपुरगढी, असोज २७ : गत साता भीषण वर्षा हुँदा पनि कुलेखानीको जलाशय भरिएको छैन । बर्खाको समयमा पर्याप्त पानी नपर्दा अन्तिम विन्दुमा पुगेको कुलेखानी जलाशय अझै १८ मिटर पानीको सतह भरिन बाँकी रहेको हो ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार गत बिहीबारसम्ममा कुलेखानी जलाशयमा पानीको सतह एक हजार ५१२ मिटर छ । यस जलाशयको कुल क्षमता एक हजार ५३० मिटर हो ।
गत वर्ष असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ र २ मा अवस्थित कुलेखानी जलाशय भरिएर पानी जाँदा बाँध नै खोल्नुपर्ने स्थिति सिर्जना भएको थियो । कुलेखानी जलाशयकै पानीले इन्द्रसरोवर–३ मा रहेको सिस्नेरी बजारदेखि टेकरसम्मको संरचना सबै बगाएको थियो । यस वर्ष परेको भीषण पानीले पनि जलाशय भरिएको छैन । जलाशय वरपरका जलाधार क्षेत्रमा पर्याप्त वर्षा नहुँदा पानीको सतह छिटो बढ्न नसकेको केन्द्रका प्रमुख भट्टले बताउनुभयो ।
यस वर्ष भदौ पहिलो सातामा पानीको सतह झन्डै अन्तिम विन्दुमा पुग्न लागेको थियो । त्यतिबेला एक हजार ४९० मिटर पानीको सतह पुगेको थियो । एक हजार ४८४ मिटरभन्दा कम जलाशयको न्यूनतम सीमा मानिएको छ ।
जलाशय भरिन अझै १८ मिटर पानीको सतह बढ्नुपर्ने केन्द्र प्रमुख भट्ट बताउनुहुन्छ । “अब पानी कति पर्छ, भरिन्छ कि भरिँदैन अहिल्यै भन्न सकिने कुरा भएन,” उहाँले भन्नुभयो, “अघिल्लो वर्ष यही समयमा पूर्ण क्षमतामा जलाशय भरिइसकेको थियो ।”
काठमाडौँ उपत्यकामा विद्युत्को मुख्य स्रोतका रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनामा पानीको सतह घटेपछि हिउँदमा विद्युत् आपूर्तिमा समस्या आउनसक्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बताउनुभयो ।
“अहिले नै जलाशय भरिएन भनेर आत्तिहाल्नुपर्ने स्थिति बनेको छैन, एक महिना अझै पानी पर्ने मौसम बाँकी नै छ,” प्रवक्ता ढकालले भन्नुभयो । जलाशय भरिएको भए त धेरै राम्रो हो । हिउँदको लागि चिन्ता हुँदैनथ्यो तर केही गरी भरिएन भने पनि काठमाडौँ उपत्यकामा लोडसेडिङ नहुने उहाँको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलाशय विद्युत् आपूर्ति सन्तुलन गर्न र अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथि हुँदा वितरण प्रणाली व्यवस्थित गर्न सञ्चालन गरिने गरिएको छ । ६० मेगावाट क्षमताको कुलेखानी प्रथम जलविद्युत् आयोजनाले आवश्यकताका आधारमा विद्युत् उत्पादन गरिरहेको छ । नेपालको एक मात्र जलाशययुक्त आयोजना भएकाले बर्सातमा पानी जम्मा गरी हिँउदको समयमा पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिने गरिएको छ ।
तीन सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइको जलाशय पूर्ण रूपमा भरिँदा करिब ८५ लाख घनमिटर पानी जम्मा हुने गरेको छ ।