बिहिबार, माघ १७, २०८१

ऊर्जामन्त्री खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट


काठमाडौँ, १५ माघः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपालले सुक्खा महिनामा भारतबाट प्राप्त विद्युत्ले यहाँको विद्युत् अभावलाई कम गर्न सघाउ पु¥याएको भन्दै भारत सरकारलाई धन्यवाद दिनुभयो । उहाँले वर्षाको समयमा नेपालमा विद्युत् बढी हुँदा भारत निर्यात भइरहेकाले यसले दुई देशबीचको सहकार्यलाई थप उचाइमा पु¥याएको धारणा राख्नुभयो ।

ऊर्जामन्त्री खड्काले भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरिसकेकाले यसलाई सफल कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत पहल गरिसकेको बताउनुभयो । सरकारले लिएको ऊर्जा विकासको लक्ष्य हासिल गर्न दुई देशबीच आपसी सहयोग, समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले गत अक्टोबर ३ मा नेपाल, भारत र बङ्गलादेशबीच भएको त्रिपक्षीय विद्युत् बिक्री सम्झौता नेपालको ऊर्जा क्षेत्रको विकासका लागि मात्र नभई दक्षिण एसियाकै लागि एक ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । उहाँले भर्खरै नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत सह–सचिवस्तरीय बैठकले दुईवटा उच्च भोल्टेजका अन्तरदेशीय प्रसारण लाइनको निर्माण प्रारूपमा सहमति गरेकामा खुसी व्यक्त गर्नुभयो । मन्त्री खड्काले महाकाली सिँचाइका लागि टनकपुर मुख्य नहरबाट १० क्युमेक पानी छाड्न भारतले छिटो पहल गरिदिने विश्वास व्यक्त गर्नुभयो ।

भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले नेपालको जलविद्युत् क्षेत्रमा भारतले लगानी गर्न चाहेको भन्दै लगानीको उचित वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले अपर कर्णाली, पञ्चेश्वरलगायतका जलविद्युत् आयोजनाको चाँडो विस्तृत परियोजना प्रतिवेदन टुङ्ग्याउन आग्रह गर्नुभएको भेटमा सहभागी मन्त्री खड्काका निजी सचिव मनोज पन्थले जानकारी दिनुभयो । यस्तै, भारतले निर्माण गरिरहेको अपर अरुण आयोजनाको कामलाई समेत सहजीकरण गर्न उहाँले आग्रह गर्नुभएको थियो ।

भेटमा मन्त्रालयकी सचिव सरिता दवाडी, वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीलगायत नेपालस्थित भारतीय राजदूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading