आइतबार, माघ ०६, २०८१

सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु होः गृहमन्त्री लेखक


दोधारा चाँदनी (कञ्चनपुर), ६ माघः गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले महेन्द्रनगरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर बनेको वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ती, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने लक्ष्य लिएको बताउनुभयो ।

मुलुकमा स्थायित्य र दिगो विकासका लागि प्रमुख दुई पार्टी मिलेर सरकार बनेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सरकारले सोहीअनुरुप समृद्धिको यात्रालाई अगाडि बढाउने गरी योजनाबद्ध रूपमा काम गरिरहेको छ ।” उहाँले मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र उद्योगधन्दा फस्टाउने गरी सरकारले केही कानुन संशोधन गरेर अध्यादेश ल्याएको बताउनुभयो ।

गृहमन्त्री लेखकले सरकारले चाँडै संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । “अधिवेशन बोलाउने बित्तिकै पहिलो दिन अध्यादेश प्रस्तुत हुन्छन्, पछि प्रतिस्थापन गर्ने कानुन बन्छन्”, उहाँले भन्नुभयो, “यसरी समयसापेक्ष परिवर्तनलाई आत्मसात् गर्दै हामी विकास र समृद्धिको गतिमा अगाडि बढिरहेका छौँ ।

गृहमन्त्रीले अहिलेको सरकार आगामी निर्वाचनसम्म जानेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । “दुई पार्टीका बीचमा सात बुँदे सहमति भएका छन् हामी त्यो सहमति कार्यान्वयन गर्छौं, त्यहीअनुसार सरकार अघि बढ्छ”, उहाँले भन्नुभयो, “हाम्राबीचमा कुनै समस्या छैन, बेला-बेलामा विभिन्न खालका हल्ला सुन्ने गरिन्छ, यो सरकार २०८४ सालको निर्वाचनसम्म कायम रहन्छ ।

गृहमन्त्री लेखकले महाकाली नदीमा निर्माण भइरहेको पुलमा देखिएको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । महाकाली करिडोर, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह चाँडै निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading