आइतबार, माघ ०६, २०८१

झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती


बनियानी (झापा), ६ माघः नवीनतम् प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्पासाहित भएका हुन् । झापा बाह्रदशी गाउँपालिका–६ किसान माता सोरेनले भन्नुभयो, “मकै रोप्ने बेलामा उम्रिन्छ जस्तो लाग्दैन थियो, अहिले उम्रिएको बिरुवा हेर्दा खेती राम्रै हुन्छ जस्तो छ ।

मकैखेतीका लागि एक बिघामा खनजोतमा मात्र रु १० हजारदेखि १२ हजार खर्च हुने उहाँले बताउनुभयो । “पहिलोपटक यसरी खेती गरिरहेको छु”, मकै उम्रिएपछि उत्साहित हुँदै उहाँले भन्नुभयो, “पहिलोपटक भएकाले के कसरी गर्ने भन्ने अनुभव छैन, उत्पादन राम्रो भयो भने अर्को वर्षदेखि यसरी नै खेती गर्छु ।

कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम’अन्तर्गत शून्य खनजोत प्रविधिबाट जिल्लाका तीन स्थानमा मकैखेती गरिएको छ । कृषि ज्ञान केन्द्रले बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०–१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट प्रदर्शनीको रूपमा मकैखेती गरिरहेको छ ।

प्रदर्शनी खेती गरिएको ठाउँमा अनुगमन गरेर आवश्यक युरिया, पोटास, जिङ्कलगायत मलखाद उपलब्ध गराइएको कार्यालयका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “मकै उम्रिएर राम्रो बोट आएपछि किसान आकर्षित भएका छन्”, उहाँले भन्नुभयो, “मल र सिँचाइपछि अझै राम्रो हुन्छ ।

कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रूपमा शून्य खनजोत प्रविधिबाट मकैखेतीको प्रदर्शनी खेती गरेको हो । यो प्रविधिको प्रयोगबाट किसानको उत्पादन लागत घट्नेछ भने नयाँ प्रविधि विस्तार र माटोको गुस्तर सुधार हुनेछ । धान काटेको खेतमा खनजोत नगरी मेसिनको प्रयोगबाट एकैपटक मकैको बीउ र मल हालेर मकै रोपिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading